महामहोत्सव सञ्चालन पूर्व नै २५ लाख भन्दा बढी रकम सङ्कलन

नारायणी नदी किनारमा सञ्चालन हुने एक महिने महामहोत्सव सञ्चालन हुनुपूर्व नै २५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ । १०८ कुण्डीय हवन कुण्डका आचार्य पण्डित बालब्यास श्रवण न्यौपानेकाअनुसार विभिन्न स्थानबाट रकम दिने प्रतिवद्धतासहित बिहीबारसम्म २५ लाख रुपैयाँ सङ्कलन भएको हो ।

महोत्सवका लागि रकम दिन इच्छुक व्यक्तिहरुले आफूले समेत सहयोग गर्ने भन्दै बोलकबोल गर्ने क्रम बढ्दै गएको न्यौपानेले बताए । आगामी माघ ११ देखि फागुन ११ सम्म नारायणगढको नारायणी नदी किनारमा हुने १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६ को तयारी समेत तीव्र गतिमा भइरहेको छ ।

आजभन्दा ५० दिन अगाडिदेखि तयारी थालिएको महायज्ञमा अहिले महायज्ञको प्रचार प्रसार, १०८ तीर्थस्थलको जल ल्याउने, यज्ञकुण्डको मण्डप निर्माणको काम भइरहेको छ । यज्ञकुण्डको नौ तले मण्डपमध्ये सातौँ तल्ला निर्माणको क्रममा रहेको भन्दै माघ ५ गतेसम्म मण्डपको सम्पूर्ण काम सकिने न्यौपानेले जानकारी दिए । महायज्ञका सङ्कल्पकर्ता धर्मपाल वशिष्ठ गुरुले महायज्ञपूर्व विभिन्न २९ स्थानमा हवन गर्ने सङ्कल्प अनुरुप हालसम्म १४ स्थानमा हवन भइसकेको बताए । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो । फागुन ११ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा दैनिक एक हजार जना भक्तजनहरुलाई गास र आवासको व्यवस्था गरिने समेत महाराजश्रीको भनाइ छ । त्यस्तै, महायज्ञलाई सफल पार्नका लागि विभिन्न जिल्लाहरुमा उपसमिति विस्तार तथा प्रचार प्रसारको काम भइरहेको छ । यसैबीच, आगामी पुस २६ गते शनिबार महायज्ञ स्थल नारायणी नदी किनारमा वृहत भेलाको आयोजना गरिएको छ । महायज्ञको २१ सय सदस्यीय मूल समारोह समिति विस्तार तथा १०८ उपसमिति निर्माणका लागि भेलाको आयोजना गरिएको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजले बताए । भोलाको तयारीस्वरुप विभिन्न स्थानमा छलफल तथा हवनको काम भइरहेको उनले बताए । नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए । उक्त धन धान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker