मंगलबार तीस हजार दर्शकद्वारा महोत्सव अवलोकन

चितवन, २९ पुस

टिकौली चौरमा भइरहेको १०औँ रत्ननगर महोत्सवमा दर्शकको उपस्थिति बढ्ने क्रम जारी छ । मंगलबार मात्रै ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सवको संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । पुस २५ गतेदेखि सञ्चालन भएको महोत्सवमा पाँचौँ दिनसम्म आइपुग्दा ९० हजार दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीको भनाइ छ । बुधबार महोत्सव अवलोकनका लागि दर्शकको संख्या अत्यधिक हुने आयोजकले अनुमान गरिएको रेग्मीले बताए । बुधबार माघे सङ्क्रान्ति पर्वका साथै प्रकाश सपुत समेत आउने भएपछि दर्शकको चाप धेरै हुने अपेक्षा गरिएको उनको भनाइ छ । आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको रेग्मीले बताए । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker