कोटिम महायज्ञको प्रचारका लागि मोटरसाइकल र्‍याली

चितवन, ०४ माघ
आगामी माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको प्रचार प्रसार स्वरुप शनिबार वृहत मोटरसाइकल र्‍याली गरिएको छ । नारायणगढको नारायणी नदी किनारबाट सुरु भएको र्‍यालीले नवलपुरको गैँडाकोट र भरतपुर महानगरपालिकाको अधिकांश स्थान परिक्रमा गरेको छ ।

महायज्ञ हुने स्थान नारायणी नदी किनारबाट सुरु भएको र्‍याली लिलाचोक, पुलचोक, नवलपुरको गैँडाकोटको विभिन्न क्षेत्र परिक्रमा गर्दै पुनः पुलचोक चौबिसकोठी हुँदै मेघौली पुगेर नारायणी नदी किनारमा आएर समापन गरिएको महायज्ञ मूल समितिका महासचिव दिलीप न्यौपानेले बताए । एक महिनासम्म महामहोत्सवको प्रचार प्रसारसँगै धार्मिक जागरण ल्याउनका लागि वृहत मोटरसाइकल र्‍यालीको आयोजना गरिएको न्यौपानेको भनाइ छ । सो मोटरसाइकल र्‍यालीमा पाँच सय भन्दा बढी मोटरसाइकलहरु सहभागी रहेका न्यौपानेले जानकारी दिए । इतिहासमा नै पहिलो पटक हुन लागेको वृहत कोटिहोम महायज्ञबारे जानकारी गराउँदै महायज्ञमा धेरैभन्दा धेरै श्रद्धालुहरुलाई आमन्त्रण गर्नका लागि मोटरसाइकल र्‍याली गरिएको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताए । नदी किनारमा सञ्चालन हुने १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६ को तयारीका काम अन्तिम चरणमा पुगेको महाराजश्रीको भनाइ छ । १०८ कुण्डीय कोटिहोम स्थलमा नौ तले यज्ञ मण्डप निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महाराजश्रीले मण्डपस्थल बार्ने काम भइरहेको जानकारी दिए । एकैसाथ तीन हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्न सक्नेगरि तीन कठ्ठा जमिनमा मण्डप निर्माण भइरहेको महाराजश्रीले बताए । उक्त बिराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker