
रत्ननगर महोत्सव अन्तर्गत सम्पन्न भएको चित्रकला तथा मूर्तिकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
महोत्सवअन्तर्गत पुस २९ गते भएको प्रतियोगिताका विजेताहरुलाई आइतबार महोत्सवको दशौँ दिनमा पुरस्कार वितरण गरिएको हो ।
सो प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजराम रेग्मी, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक कविन घिमिरे, सल्लाहकार योगेश खनालले पुरस्कार प्रदान गरेका हुन् । सो प्रतियोगितामा बछौलीकी प्रियङ्का चौधरी पहिलो, जिरौनाका विश्व श्रेष्ठ दोस्रो, जिरौनाकै कृष्ण लामा तेस्रो तथा पदमपुरकी अञ्जु गुरुङ र सुब्बा चोकका अभिषेक श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुलाई नगद, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको कार्यक्रम संयोजक कविन घिमिरेले जानकारी दिए ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वीचितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सवमा आइतबार तृष्णा गुरुङ, सुरेन्द्र भण्डारी, डिबि लोप्चन तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सव अन्तर्गत सोमबार प्रमोद खरेलको विशेष प्रस्तुति रहने श्रेष्ठको भनाइ छ । प्रमोदसँगै महोत्सवमा सोमबार अन्डरग्राउण्ड डान्स ग्रुप र स्थानीय कलाकारको प्रस्तुति रहने श्रेष्ठले बताए ।