रत्ननगर महोत्सव : दुई लाख ७० हजारद्वारा महोत्सवको अवलोकन

चितवन, ०५ माघ

माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढ्दै गएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।

रत्ननगर नगरपालिकाको टिकौली चौरमा आयोजना भइरहेको महोत्सवको आइतबारसम्म आइपुग्दा अवलोकन गर्ने दर्शकको सङ्ख्या दुई लाख ७० हजार भन्दा बढी पुगेको रेग्मीले बताए । आइतबार मात्रै २५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीले बताए । सोमबार प्रमोद खरेलको प्रस्तुति रहने कारण सोमबार महोत्सव अवलोकनका लागि ५० हजार भन्दा बढी दर्शकहरु सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए । सो महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको खनालले बताए ।

पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल संयोजक रेग्मीले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker