खिचरा महोत्सवमा दर्शक बढ्दै, स्वप्न सुमन र दुर्गेसले झुमाए दर्शक

चितवन, माघ ४–

माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज (शनिबार) दर्शकको भीड लागेको छ । बिहीबारदेखि परेको वर्षा हिजो साँझदेखि रोकिएपछि दर्शकहरुको महोत्सवमा भीड लागेको थियो ।

आज युवाका ढुकढुकी चर्चित गायक स्वप्न सुमनले चर्चित गीत गाउँदा दर्शकहरु उफ्रिदै मनोरञ्जन लिएका थिए । त्यसअघि पछिल्लो समयका चर्चित गायक तथा मोडेल दुर्गेस थापाले समेत मनोरञ्जन दिलाएका थिए ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज पनि अन्य विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको पोका, घोङीको प्रतिमामा र थारु घरमा फोटो खिचाउने दर्शकहरुको भीड लागेको थियो ।

महोत्सव अन्तरगत भोलि (आइतबार) चर्चित थारु गायिका समिक्षा चौधरी, सोमती चौधरी, मनिराम चौधरी, द नेटिभ व्याण्डलगायत स्थानीय कलाकारको बेजोड प्रस्तु्ती रहने साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए । यस्तै आइतबार नै खिचरा डान्स आइडलको टप ७ प्रतिस्पर्धीको पनि बेजोड प्रस्तुती रहने नृत्य प्रतियोगिता संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

यस्तै महोत्सवमा खेलकुद कार्यक्रम अन्तरगत बेलुन फुटाउने प्रतियोगिता, १० वर्ष मुनिको बालबालिकाबीच चित्रकला प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker