ब्याडमिन्टनमा केवर र किरणको जोडी पहिलो

चितवन, ०७ माघ
गत पुस २५ गतेदेखि सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव अन्तर्गत मंगलबार विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको बाह्रौँ दिन मंगलबार पूर्वीचितवन स्तरीय ब्याडमिन्टन तथा घैँटो फुटाइ प्रतियोगिता भएका छन् । ब्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने र किरण लामाको जोडी पहिलो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका खेलकुद संयोजक दिनेश कट्टेलले जानकारी दिए । पहिलो पुरस्कारको प्रायोजन सूर्या भेटेरिनरी काठमाडौँका सञ्चालक एवम् रत्ननगर महोत्सव अन्तर्गतका खेलकुद संयोजक दिनेश कट्टेलले नै गरेका थिए । त्यस्तै सो प्रतियोगितामा दोस्रो भएका केदार न्यौपाने र सुरज न्यौपानेको जोडीले १० हजार रुपैयाँ तथा तेस्रो भएका कपील श्रेष्ठ र सन्देश बस्नेतको जोडीले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा १५ टिम सहभागी थिए । त्यस्तै, मंगलबार नै भएको घैँटो फुटाई प्रतियोगितामा पहिलो हुँदै सीताराम भट्टराईले पाँच हजार रुपैयाँ पुरस्कार जितेका छन् । मंगलबार हुने भनिएको जनप्रतिनिधि र रत्ननगर महोत्सव स्टेरिङ कमिटीको डोरी तान्ने प्रतियोगिता भने रद्द भएको खेल संयोजक कट्टेलले जानकारी दिए । त्यस्तै, बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक क्षमताभएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता हुने कट्टेलले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker