सिएमसी चितवन प्रीमियर लीगः पाँचै टिमले गरे खेलाडी छनौट

चितवन, माघ ८–

पहिलो संस्करणको सिएमसी चितवन प्रीमियर लीग टि–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको छ ।

प्रतियोगिताका पाँच वटै टिमहरुले बुधबार अक्सन मार्फत खेलाडी छनौट गरेका हुन् । नारायणी रिसोर्ट गैंडाकोटमा भएको अक्सनमा भरतपुर गुर्खाज, माडी टाइगर्स, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स र इच्छाकामना वारियर्सले मार्की प्लेयरका साथै अन्य नौ जना खेलाडी आफ्नो टिममा पारेको हो ।

गोला प्रथाको आधारमा खेलाडी छनौट गर्दा भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने, राप्तीको मार्की प्लेयरमा आकाश थापा र इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ रहेका छन् ।

अक्सनबाट प्रत्येक टिमले ९ जना खेलाडी भित्र्याएका छन् । बाँकी पाँच खेलाडी प्रत्येक टिमले केही दिनमै सार्वजनिक गर्ने छ । जसमा दुई जना चितवन बाहिरका राष्ट्रिय खेलाडी र तीन जना स्थानीय खेलाडी हुनेछन् ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र चितवन क्रिकेट संघको सहआयोजनामा हुन लागेको सिएमसी चितवन प्रीमियर यही माघ १७ गतेदेखि सुरु हुँदैछ । अक्सनको कार्यक्रममा बोल्दै इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले यस प्रतियोगिताले चितवनका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीसंग खेल्न पाउँदा खेलाडीको स्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने–“स्थानीय खेलाडीलाई अनिवार्य गराएका छौं, यस प्रतियोगिताले खेलाडीको स्तर वृद्धि गर्नमा योगदान पु¥याउने छ ।”

प्रवन्ध निर्देशक चौधरीले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको अवस्थामा यसले चितवनमा क्रिकेटको माहोल बढाउनमा समेत सहयोग पुग्ने बताए । उनले यस प्रतियोगितालाई आगामि दिनमा अझै थप परिस्कृत गर्दै लैजाने बताए ।

यस्तै कार्यक्रममा बोल्दै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनको क्रिकेट विकासमा सिएमसी चितवन प्रीमियर लीग कोशेढुंगा सावित हुने बताए । उनले इभेन्ट्संग मिलेर प्रतियोगितालाई अझै व्यवस्थित गर्दै लैजाने बताए ।

यस्तै सीपीएलका टेक्निकल डाइरेक्टर राजु खड्काले चितवन प्रीमियर लिगको प्राविधिक पक्षको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सबै टिमका मालिकहरुको उपस्थिति रहेको थियो ।

कुन टिममा को–को परे ?

भरतपुर गुर्खाजः

संघर्ष पौडेल (मार्की प्लेयर), सनम बुढाथोकी, स्वप्निल अधिकारी, चन्दन ठाकुर, कृजन गुरुङ, विकल गुप्ता, वीरेन्द्र शाह, सचिन बराली, बिपिन भण्डारी ।

माडी टाइगर्सः

किशोर महतो (मार्की प्लेयर), हेमराज पौडेल, राम कार्की, सिमान्त घिमिरे, विशाल पौडेल, प्रविन भुजेल, कृष्ण नेपाली, युवराज खरेल, राजकुमार कुँवर ।

राप्ती ¥यापिड्सः

आकाश थापा (मार्की प्लेयर), हरिबहादुर चौहान, अजित भण्डारी, विशाल यादव, कमल थापा, साकार ढकाल, आशिष ढुंगाना, रिजन काफ्ले, सुशिल क्षेत्री ।

सौराहा स्याण्ड्सः

सन्तोष न्यौपाने (मार्की प्लेयर), प्रशान्त महत, राजु पौडेल, अनुज चनरा, डेनिस इकबाल, राजेश ढकाल, मनिष तामाङ, कुशल बराल, विवेक पराजुली ।

इच्छाकामना वारियर्सः

दिपेश श्रेष्ठ (मार्की प्लेयर), गौतम केसी, प्रतिक श्रेष्ठ, दिवस आचार्य, अर्जुन गौतम, उत्सव श्रेष्ठ, खिम मल्ल, उमाकान्त साह, प्रशान्त आचार्य ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker