तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पुरा

माघ ११ ।
आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको छ । महोत्सव मूल समिति संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का अध्यक्ष अमृत भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धन गर्न महोत्सव गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत तेस्रो गैंडाकोट महोत्सवले पनि थप ऊर्जा थप्ने भट्टचनले बताए । कृषि, पर्यटनमा जोड दिँदै यस पटकको प्रमुख आकर्षकको रुपमा महोत्सवको प्रवेश द्वार निर्माण गरिएको उनको भनाइ छ ।

महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छवि कँडेलले महोत्सव सम्पन्न गर्न डेढ करोेड रुपैयाँभन्दा बढी खर्च हुने बताए । उनले महोत्सवमा ३५० स्टल रहने जनाउँदै स्थानीय उत्पादनलाई ३० वटा स्टल निःशुल्क प्रदान गरिने समेत बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उनको भनाइ छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने उनले बताए । महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनको भनाइ छ । समूह र विद्यार्थीलाई केही छुट सहितको व्यवस्था गर्न लागिएको कँडेलले बताए । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker