पोखरेल प्रतिष्ठान नेपालको धान्याचलमा चार लाख ७५ हजार रुपैयाँ सङ्कलन

भरतपुर, १३ माघ
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा सोमबार मात्रै चार लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा शुरु भएको महायज्ञमा सोमबार सबैभन्दा बढी रकम भरतपुर १६ का दुर्गादत्त पोखरेलले प्रदान गरेका छन् । उनले एक लाख ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । त्यस्तै महायज्ञमा भरतपुर १ का जगन्नाथ पोखरेले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । सोमबारको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए । भट्टराईले हिन्दू धर्म एउटा विश्वविद्यालय भएको भन्दै यसको संरक्षण तथा प्रवद्र्धनका लागि भएका कामहरुको प्रसंशा गरेका थिए । प्रजिअ भट्टराईले पोखरेलहरुले आफ्नो प्रतिष्ठानको भवन निर्माण तथा अन्य मानवीय र सामाजिक कामका लागि महायज्ञ लगाउनु राम्रो भएको भन्दै महायज्ञमा सङ्कलन भएको रकमको सही रुपमा परिचालन हुनुपर्ने बताए । सो कार्यक्रममा नेपाल हिन्दू महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले धर्मको रक्षाका लागि हुने महायज्ञले धार्मिक जागरण ल्याउने उल्लेख गर्दै प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणका लागि ५१ बोरा सिमेन्ट प्रदान गर्ने बताए । सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख वाचक वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले पछिल्लो समय भागवतको नाममा अर्थ सङ्कलन गर्ने प्रतिस्पर्धा भइरहेको बताए । श्रीमद्भागवत लगाएर धार्मिक जागरण गराउनुपर्ने भन्दै बढी पैसा सङ्कलन भए मात्रै भागवत सफल भएको मानिनु धर्मभित्रको विकृति भएको बताए । उनकाअनुसार भागवत भन्नका लागि कपाल पाल्दैमा तथा दुई महिने अध्ययनले मात्रै सम्भव हुँदैन । भागवत वाचकले यहाँ भएका सबै कुराहरुको अर्थ बुझाउनुपर्ने समेत प्रमुख वाचक पोखरेलले बताए । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञका संयोजक एवम् भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालका अध्यक्ष ओमप्रसाद पोखरेलले बताए । महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा बिहान ११ बजदेखि कथा वाचन हुनुका साथै दैनिक तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका जिल्ला उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker