माघ २८ गतेदेखी फाल्गुन ३ गते सम्म सौराहामा रेवानले फुड फेष्टिबल गर्ने

चितवन ,१३ माघ

नेपालकै तेस्रो पर्यटकिय गन्तव्य सौराहामा प्रणय दिवस (भ्यालेनटाइन डे ) को अवसरमा यसबर्षपनि फुडफेस्टिबल (खाना महोत्सव) आयोजना हुने भएको छ । प्रत्येक बर्ष भ्यालेनटाइन डे को अवसर पारेर आयोजना हुदै आएको सौराहा फुड फेस्टिबलको १४ औं संस्करण माघ २८ गतेदेखी फाल्गुन ३ गतेसम्म गर्न लागिएको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा पाँच दिनसम्म हुने फुडफेस्टिबलमा खानाका विभिन्न परिकार खाना पाउनुको साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन , स्वदेशी तथा विदेशी परिकारका खानाको स्वाद दिलाउन , स्थानिय कला संस्कृतिको जर्गेना तथा संरक्षण गर्दै पर्र्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन फुडफेस्टिबल आयोजना गरिएको फुडफेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए । फुडफेस्टिबलको अवसरमा रेवानमा आवद्ध रेष्टुरेन्टहरु तथा क्षेत्रीय होटल संघमा आवद्ध होटलहरुमा खानामा १५ प्रतिशत छुट , होटलहरुको कोठामा ३० प्रतिशत छुट र साना पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुबाट सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक गिरीले बताए ।

भ्यालेनटाइन डे को दिनमा मात्रै प्रवेश शुल्क लिइने र सोबाट संकलन भएको रकमको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि उपलब्ध गराइने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । फेस्टिबल अवधिभरमा वेटर रेस प्रतियोगिता , प्रेम पत्र लेखन प्रतियोगिता , भलिवल प्रतियोगिता ,म्युजिकल चेयर प्रतियोगिता , बेलुन फुटाउने प्रतियोगिता , अन्तर विद्यालय नृत्य प्रतियोगिता , प्लाष्टिक न्यूनिकरण सम्बन्धि सडक नाटक लगायतको कार्यक्रम रहने अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा पशुपति शर्मा , रमेशराज भट्टराई , प्रकाश सपुत , दुर्गेश थापा , कमल खत्री , दुर्गा सापकोटा लगायतको कलाकारहरुको प्रस्तुती रहने छ । फेस्टिबलमा ४० वटा खानाका स्टल रहने र ५ वटा अन्य स्टल रहने आयोजकले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker