तेस्रो गैँडाकोट महोत्सव २०७६ भव्य समारोहकाबीच समुद्घाटन

माघ १५ । …. गैँडाकोट महोत्सव
पूर्वी नवलपुरको गैँडाकोटमा तेस्रो गैँडाकोट महोत्सव २०७६ भव्य समारोहकाबीच समुद्घाटन गरिएको छ । महोत्सवको समुद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले गरेका छन् ।

महोत्सवको समुद्घाटन पूर्व गैँडाकोट नगरपालिकामा जम्मा भएर विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहितको शोयायात्रा महोत्सव स्थल नारायणी नदीकिनारसम्म निकालिएको थियो । हात्ती, घोडा, बग्गीसहित विभिन्न तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी थिए । शोभायात्रामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको तेस्रो गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले जानकारी दिए ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले महोत्सवहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विदेशी वस्तुहरुलाई प्रतिस्थापन गर्नेगरि मेला महोत्सवहरु हुनुपर्ने भन्दै कोइरालाले मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने बताउनुभयो । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए । नवलपुरलाई औद्योगिक हवको रुपमा विकास गर्न गण्डकी प्रदेशबाट २० करोड रुपैयाँ प्राप्त भएको उल्लेख गर्दै भट्टचनले लोकाहा खोला नजिक ५०० बिघा जग्गा व्यवस्थापन गरिने बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने कँडेलको भनाइ छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । महोत्सवअवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker