गैँडाकोट महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेख्य

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ ।

बुधबारदेखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा बिहीबार दर्शकको सहभागिता उत्साहजनक रुपमा रहेको महोत्सवको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपुरले जनाएको छ । उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले बिहीबार २० हजार भन्दा बढीले महोत्सवको अवलोकन गरेका बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति राम्रो भएको सापकोटाले बताए ।

गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछाने रहेका थिए । लामिछानेले महोत्सवहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विदेशी वस्तुहरुलाई प्रतिस्थापन गर्नेगरि मेला महोत्सवहरु हुनुपर्ने भन्दै लामिछानेले मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने बताए ।

महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।

स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । महोत्सवअवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker