तेस्रो गैँडाकोट महोत्सवको तेस्रो दिन, १५ हजार दर्शकले गरे अवलोकन

माघ १७ ।
गैँडाकोटको नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको तेस्रो दिन आज –शुक्रबार) १५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले आयोजना गरेको महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।

महोत्सव अन्तरगत शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक प्रजापति पराजुली, शशांक कँडेल, सिजु अधिकारीलगायतका कलाकारहरुको प्रस्तुति रहने सापकोटाले जानकारी दिए । सापकोटकाअनुसार शुक्रबारको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मणिभद्र कँडेल प्रमुख अतिथि रहेका थिए ।

महोत्सवको स्टल निर्माणमा स्थानीय उत्पादन बाँसको प्रयोग हुनु खुसीको कुरा भएको भन्दै कँडेलले मेला महोत्सवले स्थानीय उत्पादनकै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । महोत्सवअवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker