गैँडाकोट महोत्सव अन्तर्गत आज रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेको प्रस्तुति

गैँडाकोट महोत्सव
माघ १९ ।
तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् । महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँथी भन्थी बहुला बनाएर गई सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् ।

त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सोमबार पशुपति शर्मा, अमर विरही गुरुङसहितका कलाकारहरुले प्रस्तुति राख्ने महोत्सवका साँस्कृतिक संयोजक नवराज कँडेलले बताए ।

आइतबार मात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेका गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए । सापकोटाकाअनुसार आइतबार समेत रसियन कलाकारहरुले प्रस्तुति राखेका छन् ।

महोत्सवको साँस्कृतिक कार्यक्रम, बुर्ज अल अरब दुबई (सेल्फी जोन)मा दर्शकको आकर्षण बढेको सापकोटाले जानकारी दिए । महोत्सव स्थलबाट नारायणी नदीमा र्याफ्टिङको समेत व्यवस्था गरिएको सापकोटाले बताए । महोत्सवमा आइतबार नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तिलक महत प्रमुख अतिथि, गैँडाकोट नगर प्रमुख छत्रराज पौडेल विशिष्ठ अतिथि, देवचुली नगरपाकिलाकी उपप्रमुख पार्वता तिवारीसहितका अतिथिहरु सहभागी थिए । माघ २६ गतेसम्म सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवमा कृषिका ४० वटा स्टल, विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker