गैँडाकोट महोत्सव बिहीबार मात्रै २० हजार भन्दा बढी दर्शकले गरे अवलोकन

माघ २३ ।

गैँडाकोट नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव २०७६ मा आस्था राउत र राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचेका छन् । राजन गुरुङ स्टेजमा चढेर महोत्सवमा साङ्गीतिक माहौल तताएका थिए । गुरुङले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशै माथीलगायतका गीत गाएका थिए । गुरुङपछि स्टेज उक्लिएकी आस्थाले नाकैमा फुली, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा लगायका गीत गाएकी थिइन् ।

गैँडाकोट महोत्सवको नवौँ दिनको साँस्कृतिक कार्यक्रममा आस्थाको गीतमा युवाहरु छमछमी नाचेका महोत्सवका साँस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । बिहीबार महोत्सवमा गैँडाकोट डान्स आइडलका उत्कृष्ट ६ समूहले समेत आफ्नो प्रस्तुति राखेका कँडेलले जानकारी दिए । महोत्सवमा शुक्रबार गायक तथा मोडेल दुर्गेश थापा, आवाज नक्कल गर्ने कलाकार दिनेश काफ्ले, गायिका दुर्गा सापकोटा, ढाकाराम पौडेललगायतका कलाकारहरुको प्रस्तुति रहने कँडेलले बताए । माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको बिहीबार मात्रै २० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।

महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताए । माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker