
चितवन
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा अहिलेसम्मकै सबै भन्दा धेरै दान गर्ने दाता भेटिएका छन् ।
चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आज आइतबार एक दाताले एक करोड बराबरको जग्गा दान गरेका छन् ।
जारी धनधान्यान्चलमार्फत भरतपुर १० का बामदेब गौलीले रंगशाला निर्माणका लागि एक करोड बराबरको जग्गा दान गरेको मुल आयोजक समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले जानकारी दिए।
गौलीले चितवनको भरतपुर ११ जखडीमाईमा रहेको ८२ लाख बराबरको १८ धुर र रत्ननगरको शान्तिकुञ्जमा रहेको ४० लाख बराबरको १४ धुर जग्गा दान गरेका हुन् । जग्गा दान गर्दै उनले समाजले सहयोगको पाठ सिकाए अनुरुप नै आफुले रंगशाला निर्माण अभियानमा होस्टेमा हैसे गर्ने प्रयास गरेको बताए ।
चितवनमा रंगशाला निर्माण अभियान सफल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई थियो । उनले अन्य राष्ट्रहरुमा पचासौँ सयौँ बर्ष अगाडि बनिसकेको रंगशाला नेपालमा भने भर्खरै बन्न लागेको भन्दै सबैलाई सहयोगका लागि अपिल गरे । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म आफु र आफ्नो परिवारको तर्फबाट सक्दो सहयोग गरिरहने प्रतिबद्दता गरे ।
यस्तै आजनै बिजय गु्रपले पनि धनधान्यान्चलमार्फत रंगशालालाई जग्गा दान गरेको छ । भरतपुर महानगरपालिका २१ को उक्त गु्रपले१२ लाख ६८ हजार बराबरको १२ धुर जग्गा दान गरेको हो । गु्रपले भरतपुर २७ मा रहेको उक्त जग्गा दान गरेको हो ।
रंगशालामा जारी धनधान्यान्चलमा आज पनि बिहानैदेखी दाता तथा भक्तजनहरुको भिड लागेको छ । ५० करोड उठाउने लक्ष्यका साथ जारी धनधान्यान्चल महोत्सव २७ गतेसम्म चल्नेछ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।