फागुन २४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

भरतपुर । फागुनको तेस्रो साता चितवनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको सोमबार भरतपुरमा बसेको बैठकले आगामी फागुन २४ र २५ गते भरतपुरको गेष्ट हाउस चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
सो प्रतियोगितामा चितवनका सात वटै स्थानीय तहमा भएका प्रतियोगिताबाट विजेता खेलाडीहरु सहभागी हुने चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए । ‘जिल्लाका सात वटै स्थानीय तहले खेलाडी छनौट गरिसकेका छन्’ ढकालले भने, ‘जिल्लास्तरीय प्रतियोगितामा सात सय भन्दा बढी खेलाडीहरु सहभागी हुन्छन् ।’ प्रतियोगितामा छात्रा र छात्रबीच छुट्टाछुट्टै रुपमा एथलेटिक्सको १३ वटा विधा, मार्सल आर्टस्को तेक्वान्दो, उसु र कराँतेका साथै कबड्डी र भलिबल प्रतियोगिता हुने ढकालले बताए ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने ढकालले जानकारी दिए । जिल्लाबाट सबै विधामा छात्रा र छात्रतर्फ गरि ८० जना खेलाडीहरुको सहभागिता हुने ढकालले बताए । गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयले जितेको थियो ।
गत वर्ष भरतपुरमा विद्यालयस्तरीय प्रतियोगिता नहुँदा जिल्लास्तरीय खेलमा यहाँका कुनै पनि विद्यालयबाट विद्यार्थी सहभागी हुन पाएका थिएनन् ।
यसैबीच, प्रदेश खेलकुद परिषद् बागमतीबाट मनोनित भएका पदाधिकारीहरुलाई सोमबार जिल्लामा क्रियाशील खेलकुदसँग सम्बन्धित संघसंस्थाले स्वागत गरेका छन् । एथलेटिक्स संघ चितवनका अध्यक्ष मानबहादुर रजाली मगरको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रह्लाद प्रधान, सदस्यहरु सुदन गैरे, रफि मिया अन्सारी, निशा राना मगर र मिरा खड्कालाई स्वागत तथा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा ढकालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा जिल्ला जुटेका कारण यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । जिल्लास्तरबाट छनौट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा जाने भएकाले यो प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादन गर्न समेत टेवा पु¥याउने ढकालको भनाइ छ ।
कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष गंगालाल लामाले आफ्नो कार्यकालमा जिल्लाको खेलकुद विकासका लागि उल्लेखनीय काम गरेको भन्दै नयाँ कार्यसमितिले यहाँको खेलकुद क्षेत्रलाई थप उचाईमा पु¥याउनुपर्ने बताए । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीहरुलाई जिल्ला एथलेटिक्स संघ, जिल्ला बक्सिङ संघ, जिल्ला फूटबल संघ, जिल्ला मुवाथाई संघ, जिल्ला भलिबल संघ, जिल्ला ब्याड मिन्टन संघ, जिल्ला क्रिकेट संघ, जिल्ला कराँते संघ, जिल्ला तेक्वान्दो संघलगायतका संघसंस्थाले स्वागत एवम् सम्मान गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker