भरतपुर महोत्सव उद्घाटन तीन दिन पछि सर्यो

फागुन ०६ ।

आगामी फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । महोत्सव मूल संयोजक घनश्याम पौडेल श्याम तथा प्रचार प्रसार उपसमिति संयोजक विष्णुप्रसाद धितालद्वारा जारी विज्ञप्तीमा महोत्सव फागुन ११ गते सुरु भएर फागुन १९ गते सकिने जनाइएको छ । विभिन्न कारणले गर्दा महोत्सव उद्घाटन हुने दिन पछि धकेलिएको विज्ञप्तीमा जनाइएको छ । यसैबीच, महोत्सव तयारीको काम तीव्र रुपमा अगाडि बढिरहेको मूल संयोजक पौडेलले बताए । महोत्सव स्थलमा स्टल निर्माणसँगै स्टेज र बीस हजारी तालको स्वरुप निर्माणको काम भइरहेको पौडेलले जानकारी दिए ।


पोल्ट्री, केरा, माछा, दूध लगायतका उत्पादनलाई प्रवद्र्धन गर्न भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव २०७६’ आयोजना गरिएको मूल संयोजक पौडेलले बताए । फागुन ११ देखि १९ गतेसम्म हुने मेलामा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाको गरि २५० भन्दा बढी स्टल रहनेछ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने उनले बताए ।

स्थानीय उत्पादनको प्रवद्र्धन र टेवा पुग्ने उद्देश्यले पोल्ट्री जन्य उत्पादन तथा उपकरणका स्टलहरुलाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामुहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सव परिसरमा विश्व सम्पदा एवम् रामसार सूचीमा रहेको बीसहजारी तालको नमूना बनाई निकुञ्जका जनावर एवम् पंक्षीका आकृतिका मूर्तीहरु राखिने पौडेलले बताए । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निमार्णाधीन अन्तराष्ट्रिय गौतमबुद्ध रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker