प्रचण्डले भरतपुर महोत्सव उद्घाटन गर्ने

चितवन, ०९ फागुन

भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।

आगामी फागुन ११ देखि १९ गतेसम्म केन्द्रीय बस टर्मिनलको खाली चौरमा हुने महोत्सवको उद्घाटन गर्न अध्यक्ष दाहाल आउने महोत्सवका संयोजक घनश्याम पौडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउनेबारे सम्पूर्ण तयारी पुरा भइसकेको उल्लेख गर्दै पौडेलले ११ गते दिउँसो महोत्सवको उद्घाटन हुने बताएका हुन् ।


भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवमा पोल्ट्री, केरा, माछा, दूध लगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै पौडेलले महोत्सव स्थलमा रामसार सुचिमा सुचिकृत बीस हजारी तालको स्वरुप निर्माणको काम भइरहेको जानकारी दिए ।
ताल निर्माणसँगै निकुञ्जका जनावर एवम् पंक्षीका आकृतिका मूर्तीहरु राखिने पौडेलले बताए । सो महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाको गरि २५० भन्दा बढी स्टल रहने महोत्सवको प्रचार प्रसार उपसमिति संयोजक विष्णुप्रसाद धितालले बताए ।
स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने उनले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पोल्ट्री जन्य उत्पादन तथा उपकरणका स्टलहरुलाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामुहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ ।
महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker