चेपाङ महिलाको नेतृत्व विकास र जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया

चितवन- चितवनको कालिका नगरपालिका ३ पदमपुरमा अगुवा चेपाङ महिला पैरवी मञ्च ३ पदमपुरको आयोजनामा निर्वाचित जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीयस्तरमा सुशासन प्रर्वद्धनका लागि चेपाङ महिलाको नेतृत्व विकास गर्न, स्थानीय निकायमा सामाजिक जवाफदेहिता अभिवृद्धि र योजना निर्माण प्रक्रियामा चेपाङ महिलाहरुको सहभागिता बढाउनुका साथै स्थानीय निकायले दिने सेवासुविधा र विकासका योजनाहरु अति सिमान्तकृत चेपाङ समुदायसँग पुर्‍याउन सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले अगुवा चेपाङ महिलाहरुको सक्रियतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

चेपाङ महिलाहरुको सशक्तिकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जनलगायत मानवअधिकारको रक्षा गर्न, सरकारी तथा अन्य गैरसरकारी सरोकारवाला निकायहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्ने, स्थानीय योजना निर्माण तथा विकास निर्माण प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने, अशिक्षा, चेतनाको कमीले गर्दा चेपाङ समुदायमा विद्यमान बालविवाह, बहुविवाह, महिला हिंसा, जाँडरक्सी खानेजस्ता असामाजिक क्रियाकलापहरुविरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताए ।

कार्यक्रममा अगुवा चेपाङ महिला पैरवी मञ्चका सदस्यहरु उर्मिला चेपाङले बोरिङ सिँचाइ आयोजना सुरु गर्दा स्थानीय चेपाङहरुलाई बैठकमा सहभागिता नगराई आफैँ मनोमानी तरिकाले रकम माग गरेको जानकारी गराए ।

चेपाङ अगुवा प्रतिशा चेपाङले गरिब तथा पीछडिएका चेपाङ समुदायले राज्यद्धारा प्रदान गर्ने सेवासुविधाहरु दिनेक्रममा विभेद हुने गरेको बताइन् ।

चेपाङ बालबालिकाको लागि आएको छात्रवृत्ति रकम अन्य समुदायलाई वितरण हुने गरेको बताइन् । कार्यक्रममा बोल्दै मायालु चेपाङले वडाले दिने कार्यक्रमको बारेमा सूचनाहरु चेपाङ महिलाहरुले थाहा नपाउने हुनाले नगरपालिकाले दिने सीप विकास तथा आयमूलक, क्षमता विकासजस्ता कार्यक्रमबाट अधिकांश चेपाङहरु वन्चित हुनुपरेको गुनासो सुनाइन् ।

कार्यक्रममा बोल्दै कालिका नगरपालिका ३ का महिला स्वास्थ्य स्वंसेविकाले स्वास्थ्य शाखाले प्रजनन् स्वास्थ्य, खोप कार्यक्रम लागू गरेको भए पनि चेपाङ महिलाहरुले त्यति चासो नदिएको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल चेपाङ संघ नगर कमिटीका अध्यक्ष कृष्ण चेपाङले भौतिक पूर्वाधार विकासमात्र नभएर चेपाङहरुलाई नेतृत्व क्षमता, सीप विकास, सामाजिक समावेशिता र जवाफदेहिता अभिवृद्धिका साथै उनीहरुको चेतनास्तरमा परिर्वतन ल्याउनुपर्ने बताए । अझै पनि चेपाङहरु घरको चुलोचौका छोडेर बाहिर आउन नसकेकोले पछाडि परेको र सधैँ परनिर्भर भएको उनको भनाइ थियो ।

कार्यक्रममा मन्तव्य राख्दै कालिका नगरपालिका ३ का वडाध्यक्ष टीका रिजालले आफू सबै जनताहरुको माझमा रहेर काम गरेको र चेपाङहरुलाई अन्य समुदायको तुलनामा प्राथमिकतामा राखेर काम गरेको बताए ।

उनले आधुनिक कृषि प्रणालिको माध्यमबाट आयआर्जन गरी आर्थिक समृद्धितर्फ लैजानका लागि प्रदेश तथा स्थानीय सरकारले खानेपानी तथा सिँचाइ परियोजनाको आवश्यकता महसुस गरेर विभिन्न योजनाहरु संचालन गरेको बताए ।

व्यावसायिक कृषिका लागि प्रविधिक ज्ञान र सीपको आवश्यकता हुने भएकोले समूहमार्फत योजना बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने बताए । उनले चेपाङ महिलाहरुको नेतृत्वमा आजको कार्यक्रम आयोजना भएकोमा खुशी प्रकट गर्दै यसरी महिलाहरु एकजुट भएर योजना माग गर्न आएमा वडा तथा नगरपालिकाले योजनाहरु दिने बताए ।

आगामी दिनमा यस प्रकारका कार्यक्रमको आयोजना गर्दा स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्रभावकारी हुने उनको भनाय थियो ।

अन्तमा अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष सुस्मा चेपाङले विगतमा शिक्षा र चेतनाको कमिले पछाडि परेको भए पनि अहिले समूहमा आवद्ध भएपछि चेपाङ महिला सक्रिय भएर केही महिलाहरु आफ्ना मागहरु सरकारी निकाय समक्ष लिएर जान सक्ने भएको बताइन् । अझै पनि चेपाङ महिलाहरु निर्धक्क भएर वडा कार्यालय, नगरपालिकामा गएर योजना माग गर्न नसकेको हुँदा आगामी दिनमा समूहहरु गठन गरेर अगुवा चेपाङ महिला पैरवी मञ्चमार्फ महिलाको लागि बजेट छुट्टाउन पैरवी गर्न बताइन् ।

डेक–नेपालद्धारा अन्डेफको सहयोगमा संचालित लैंगिक उत्तरदायी सुशासन प्रर्वद्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तिकरण कार्यक्रमअन्तरगत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा कालिका नगरपालिका ३ पदमपुर मञ्चकी अध्यक्ष सुस्मा चेपाङको अध्यक्षता र कालिका नगरपालिका ३ पदमपुरका वडाध्यक्ष टीका रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सदस्य कुलबहादुर थिङ्ग, महिला सदस्य सकुन्तला सुनार, टोल विकास संस्थाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, नेपाल चेपाङ संघका, केन्द्रीय सदस्य, नगर पदाधिकारी, वडा न ९, १०, ११ का स्थानीय श्रोत व्यक्तिहरु, राजनीतिक दलका प्रतिनिधिलगायत ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानिय श्रोत व्यक्ति सीता चेपाङले संचालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker