प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव शुरु

फागुन १६ ।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा शुक्रबारदेखि प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ शुरु भएको छ ।

महोत्सवको उद्घाटन बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गरे । महोत्सवको उद्घाटन गर्दै भुर्तेलले स्थानीय स्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । महोत्सवले कृषि, पर्यटनलगायतलाई जोड दिएको खण्डमा मुलुकले चाँडै नै समृद्धि हासिल गर्ने भुर्तेलको भनाइ छ । मेला महोत्सवमा वाह्य सामग्रीहरुको बिक्री र प्रदर्शन भन्दा पनि ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तु, स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा भुर्तेलले जोड दिए ।

सो महोत्सवको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै महोत्सव मूल समिति संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले भरतपुरको समग्र विकासका लागि महोत्सव आयोजना गरिएको बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै भ्रमण वर्षलाई समेत सफल बनाउनका लागीपरेको पौडेलको भनाइ छ । महोत्सवमा कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक गरि करिब २५० स्टल रहेकोमा सम्पूर्ण स्टलहरु बुकिङ भएका पौडेलले जानकारी दिए । मुलुकको समृद्धि र उन्नतीको अभियानलाई भरतपुरले नेतृत्व गर्ने समेत पौडेलको भनाइ छ ।

महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको साँस्कृतिक घर सहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको छ । सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलहरु रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ ।

महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्सव उद्घाटन पूर्व महोत्सव स्थलबाट निस्किएको घोडा, मालिका मन्दिरसहितको शोभायात्राले भरतपुर बजार परिक्रमा गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker