
चैत ०४ ।
कोरोना सन्त्रासका कारण जिल्लामा रगतको अभाव हुन थालेपछि नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्समा विभिन्न संघसंस्थाको आयोजनामा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नारायणी मोटर्स, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी, एबीसी नारायणी मोटर्स प्रालि गैँडाकोट, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइगे्रशन, लायन्स क्लब अफ नारायणगढ नारायणीलगायतका संघसंस्थाको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा २६ जना महिला सहित एक सय एक जनाले रक्तदान गरेका कार्यक्रम संयोजक अनुषा चुकेले जानकारी दिइन् । संयोजक चुकेकाअनुसार यी ६ वटा संघसंस्थाले आफ्नो वार्षिक कार्यक्रममा पारेर नियमित रक्तदानको कार्यक्रम गर्दै आइरहेका छन् । कोरोनाको सन्त्रासका कारण जिल्लामा रक्तदानका कार्यक्रम पनि नभएको र रक्तदान कार्यक्रम समेत स्थगित भइरहेको अवस्थामा रगतको मागलाई सहज बनाउन रक्तदान कार्यक्रम गरिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् नारायणी मोटर्स नारायणगढका सञ्चालक बालगोपाल चुकेले बताए ।
सबै संघसंस्थाहरुले रक्तदानको कार्यक्रम स्थगित गर्दा बिरामीका लागि रगत अभाव भएको जानकारी पाएपछि आफूहरुले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको चुकेको भनाइ छ । चितवनका बिरामीले रगत खोज्न सहज भएपनि जिल्ला बाहिरबाट आउने बिरामीलाई रगत खोज्न गाह्रो हुने भएकाले समेत सहजता ल्याउन आकस्मिक रुपमा रक्तदान गरेको चुकेले बताए । रगत दिएर बिरामीहरुको जीवन बचाउन सकिने भएकाले रक्तदाताहरुलाई नियमित रुपमा रगत दिनका लागि समेत चुकेले आग्रह गरेका छन् ।