नुवाकोटको तारकेश्वर र म्यागङमा शिव अधिकारीले पठाए २५ थान पिपिई सहित स्वास्थ्य सामग्री, ठमेलका श्रमिकलाई बाँडे राहत

दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला पठाइएको छ । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका समाजसेवी अधिकारीले आज तारकेश्वरका आठवटै स्वास्थ्य केन्द्र अन्तर्गत सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि ९ थान पिपिई तथा एप्रोन सेटका साथ मास्क, साबुन, ग्लब्स लगायत सरसफाइका सामग्री गिरिजा प्रसाद कोइराला फाउन्डेसन तारकेश्वर गाउँपालिका कमिटी मार्फत वितरण गर्ने गरी फाउन्डेसनका गाउँपालिका संयोजक निकेश अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, तारकेश्वरको उत्तरी छिमेकमा पर्ने म्यागङ गाउँपालिकाका ६ वटै वडामा सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेटका साथ सर्जिकल ग्लब्स लगायत स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष आशा तामाङ मार्फत वितरण गर्ने गरी आजै नुवाकोट पठाइएको समाजसेवी अधिकारीले बताएका छन् ।

यसअघि, अधिकारीकै नेतृत्वमा बनेको तारकेश्वर २, तारुका चौतारा गाउँस्थित गौरा पार्वती सामुदायिक स्वास्थ्य केन्द्रका लागि हिजो रोटरी क्लब अफ दी हिमालय गोर्खाज्‌ले ५ थान पिपिई तथा एप्रोन सेट, १० लिटर स्यानिटाइजर, ८५० थान मास्क र २०० थान डिटोल साबुन सहयोग गरेको थियो । हिजै एक वक्तव्य मार्फत स्वास्थ्य केन्द्रका महासचिव समेत रहेका अधिकारीले स्वास्थ्य सामग्री उपलब्ध गराउने रोटरी क्लब अफ दी हिमालय गोर्खाज्‌प्रति विशेष आभार प्रकट गरेका थिए ।

आज सामाजिक सञ्जाल फेसुकमार्फत एक वक्तव्य जारी गर्दै समाजसेवी अधिकारीले दुई महिना अघिदेखि आफूले चलाएको कोरोना प्रतिरोधी अभियान अन्तर्गत स्वास्थ्य सामग्री जिल्ला पठाइएको जानकारी दिँदै मानव सेवाको आफ्नो अभियान अझै जारी रहने बताएका छन् । वक्तव्यमा उनले पिपिई, मास्क र ग्लोब्सका लागि समन्वय गरी आफ्नो अभियानमा सहयोग गरेका भिलेज टुरिजम – नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेललाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

कोरोना प्रतिरोधी अभियान अन्तर्गत अधिकारीको संयोजनमा तारकेश्वर गाउँपालिकाभरि घर घरै मास्क वितरण अभियान चलिरहेको छ । तारकेश्वरका ६ वटै वडामा गरी झन्डै २० हजार थान मास्क वितरण भइसकेको छ । यसलाई जारी राख्दै छिमेकी गाउँपालिकाहरूमा पनि मास्क वितरण अभियान विस्तार गर्ने उनको योजना छ ।

संकटको यस घडीमा जिल्लावासीको सुख दुःखमा जोडिने उद्देश्यले घरघरै मास्क तथा सचेतना अभियान चलाएको अधिकारी बताउँछन् । यसैबीच, अधिकारीकै पहलमा आजदेखि काठमाडौंको ठमेल ठमेल क्षेत्रका श्रमिक वर्गमा राहत वितरण सुरु गरिएको छ । ६ साता लामो लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका ठमेल क्षेत्रका श्रमिक वर्गमा अधिकारी नेतृत्वको समूहले आज राहत स्वरूप १८० केजी चामल, दाल, तेल लगायत खाद्य सामग्री वितरण गरेको हो । फेसबुक मार्फत अधिकारीले आफ्नो आग्रहलाई स्वीकार गरी मानवसेवाको अभियानमा साथ दिएका पासाङ ल्हामु गाउँपालिका वडा नं. ५ थमो निवासी सगरमाथा आरोही तथा समाजसेवी मिङ्‌मा शेर्पालाई विशेष धन्यवाद ज्ञापन गरेका छन् । यो राहतले श्रमिक वर्गको पीडामा थोरै भए पनि मल्हमको काम गर्ने उनीहरूको विश्वास छ ।

यसअघि, अधिकारीले मातातीर्थ औंसीको अवसरमा स्वर्गीय आमा गौरादेवी अधिकारीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको आमा कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कार घोषणा गरेका थिए । मातातीर्थ औंसीका दिन वक्तव्य जारी गर्दै उनले स्वर्गीय आमा गौरदेवीको सम्झना तथा समस्त नेपाली आमाहरूको सम्मानमा ६० हजार १ सय ११ रुपैयाँको ‘गौरादेवी आमा कल्याणकारी कोष’ र ४० हजार रुपैयाँको ‘गौरादेवी पत्रकारिता पुरस्कार कोष’ स्थापना गरेको सार्वजनिक गरेका थिए ।

लकडाउन अघि अधिकारीले अस्थायी रूपमा काठमाडौं बस्दै आएका घर फर्कन चाहने नुवाकोटेहरूका लागि नि:शुल्क बस को व्यवस्था गरेका थिए । उनको संयोजनमा लकडाउन अघिका दुई दिनमा एक दर्जन बस काठमाडौंबाट त्रिशूली पठाइएको थियो ।

केही साताअघि अधिकारीले जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरूलाई १० थान पिपिई तथा एप्रोन सेट उपलब्ध गराएका थिए । पत्रकारिता र पर्यटन उद्यममा दुई दशक बिताएका अधिकारी एक दशकदेखि समाजसेवामा लागिपरेको छन् । जन्मथलो नुवाकोटको तारुकाबाट समाजसेवा सुरु गरेका अधिकारी तारुकाबाट तारकेश्वर, त्यहाँबाट सिङ्गो नुवाकोट हुँदै राष्ट्रिय स्तरमै एक गतिशील सामाजिक व्यक्तित्वका रूपमा चिनिन थालेका छन् ।

तारकेश्वरभित्र २०७२ को महाभूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य योगदान गरेका अधिकारी त्यसयता गाउँको स्वास्थ्य, शिक्षा, खानेपानी, महिला सशक्तीकरण, युवा तथा खेलकुद लगायत क्षेत्रको विकासमा समर्पित छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker