
आशिष उप्रेती,
चितवन, जेठ ३०-
देशभरी नै सरकारविरुद्ध प्रदर्शन भैरहेको बेला अाज शुक्रबार पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारा चोकमा युवाहरुले सरकारविरुद्ध शान्तिपुर्ण रुपमा विरोध प्रदर्शन गरेका छन् । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै भण्डाराका युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।
विभिन्न माग तथा विरोधका शब्द लेखिएका पम्प्लेटहरु हात हातमा लिएर विरोध जनाएका हुन् । उनीहरुले हातैले लेखेका विभिन्न चित्रसहितका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, कोरोनामा खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् । प्रदर्शनमा उनीहरुले १० अर्ब खै ?, ‘१०० प्रतिशत पीसीआर लागु गर’, के पाईस नेपाली, जिउदो हुदा बेसार मरेपछी पीसीअार, बाचनेहरुमा हाहाकार मरेपछी पीसीअार, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर बिसो हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
उक्त विरोध प्रदर्शनमा राप्ती नगरपालिकाका सयौँ युवाहरु उपस्थित भएका थिए। सामाजिक तथा भौतिक दुरी कायम गरि प्रदर्शन गरिएको थियो। बिहान १० बजेबाट सुरु भएको प्रदर्शन झण्डै दुई घण्टासम्म युवाहरु प्रदर्शनको लागि सडकमा उत्रिएका थिए ।
यसरी शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरेको लाई सरकारले बेवास्ता गरे अझ उग्र रुपले आन्दोलन गर्ने युवाहरुले सरकारलाई चेतावनी दिएका छन् । यस्ता विरोध प्रदर्शनले सरकारलाई सकारात्मक सन्देश दिएको र युवाहरु अझ एकजुट हुनुपर्ने प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् ।