मिर्गौला रोगी कमलालाई रत्ननगरका युवाले गरे नगद सहयोग

केशरबाग । भरतपुर–६, केशरबागकी ३२ वर्षीया महिलालाई शनिबार रत्ननगरका युवाहरुले आर्थिक सहयोग गरेका छन् । विगत तीन वर्षदेखि दुवै मिर्गौलामा समस्या भएपछि उपचार अभावमा बसिरहेकी कमला तामाङलाई नगद ५० हजार ५४५ रूपैयाँ सहयोग गरिएको हो ।

रत्ननगर–१५ घर भई हाल पोल्यान्ड बस्दै आएका प्रकाश ढकाल र विश्वास कट्टेलको विशेष पहलमा संकलन गरेर पठाएको रकम कालिका–६ का युवा व्यवसायी अमित श्रेष्ठ, सन्तोष लामालगायतको टोलीले बिरामीको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।

घरको आर्थिक अवस्था ज्यादै दयनीय भएकोले उपचारमा समेत समस्या भएपछि मानवीय संवेदनाका हिसाबले उपचारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरेर पठाएको नेपालबाट प्रतिनिधित्व गरेका युवा व्यवसायी श्रेष्ठले बताए ।

बिरामीको उपचारका लागि आएको रकम जथाभावी प्रयोग नहोस् भन्ने उद्देश्यले नवज्योति टोल विकास संस्थाकी सदस्य गंगा बजगाईंको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम संकलनमा ‘जय शम्भो फेसबुक समूह’ले पनि मह¤वपूर्ण भूमिका खेलेको उनले बताए । दुई छोरी र एक छोराकी आमा बिरामी भएपछि अधियाँ गरेर खान पनि नसकेको कमलाले बताइन् ।

‘श्रीमान्ले विदेशमा कमाउने र मैले यहाँ अधियाँ गरेरै भए पनि घरपरिवार पाल्दै आएका थियौँ’, उनले भनिन्, ‘अहिले आफू पनि बिरामी भएपछि काम गर्न सक्ने कुरै भएन, त्यसैले समस्यामाथि समस्या थपिँदै गएको छ ।’

श्रीमान्ले कमाएको पैसाले मात्रै नियमित डायलासिस गर्न नपुग्ने हुँदा उपचारमा पनि समस्या भएको उनको भनाइ छ । कमलाले विगत तीन वर्षदेखि हालसम्म हप्तामा दुईपटक डायलासिस गर्दै आएकी छन् ।

‘अहिलेसम्म उपचारमा १५ देखि २० लाख रूपैयाँ खर्च भएको अनुमान गरेकी छु, तर ठ्याक्कै हिसाब भने राखेकी छैन’, उनले भनिन्, ‘श्रीमान्ले विदेशमा बसेर कमाएको पैसाले मात्रै उपचार सम्भव नहुने हुँदा दायाँबायाँ ऋणधन गरेर उपचार खर्च चलाउँदै आएकी छु ।’ घरको आर्थिक अवस्था कमजोर भएपछि वडाबाट पनि केही दिनअघि नगद सात हजार रूपैयाँ सहयोग पाएको उनले बताइन् ।

लकडाउनका कारण सवारीसाधन नचल्दा उनको डायलासिस गर्नका लागि वडाले नै सवारीसाधनको व्यवस्था मिलाइदिएको थियो । ‘सम्पत्तिको नाममा जम्मा एक कट्ठा जमिन छ, त्यो पनि चार दाजुभाइ छन्, भागै लगाउने हो भने पनि कति नै पो हुन्छ र !’ कमलाका छिमेकी दयानिधि बजगाईंले भने, ‘अधियाँपात गरेर खाइरहने मान्छे आफैँ थला परेपछि ठूलो समस्यामा छिन् ।’ उनका अनुसार कमलाले अहिलेसम्म वडाले दिएको सात हजारबाहेक शनिबारकै सहयोग नै सबैभन्दा ठूलो र पहिलो सहयोग पाएकी हुन् । श्रीमतीको उपचारका लागि खाडीमा पसिना बगाइरहेका कमलाका श्रीमान्को पनि कोरोना कहरका कारण काम रोकिएकोले थप समस्यामा परेको उनले सुनाए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker