पुर्वी चितवनको भण्डारामा रहेका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

आशिष उप्रेती, चितवन, भदौं २–
पूर्वी चितवनको राप्ती नगरपालिका ६ भण्डारामा रहेको सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढिमाई बाहिनी मुख्यालयमा कार्यरत ४२ जना सशस्त्र प्रहरीहरुमा एक‌ै साथ कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा ४० जना पुरुष र २ जना महिला गरि ४२ जना सशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । राप्ती ६ मा रहेको सशस्त्र ब्यारेकबाट कुल ६० जना सशस्त्र प्रहरीहरुको परीक्षण गर्दा ४२ जना सशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको उहाले बताए । सशस्त्र प्रहरीका पुरुष संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने संक्रमित महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका रहेका छन् । राप्ती नगर प्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरीहरु सबै ब्यारेक भित्रै सुरक्षित रुपमा क्वारेन्टिनमा नै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका सशस्त्र प्रहरीहरुलाई ब्यारेक भित्रै आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । अाज संक्रमित भएका सशस्त्र प्रहरीहरु मध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको नगरपालिकाका प्रमुख बरालले बताए । राप्ती नगरपालिकामा एकैपटक यति धेरै संख्यामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । पछिल्लो समयमा राप्ती नगरपालिका ६ मा दिनका दिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । त्यसमाथि पनि राप्ती ६ मा नै रहेको सशस्त्र प्रहरी ब्यारेकमा देखिएको छ । यसअघि सोही गणमा कार्यरत ८ जना सशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा सोमबार राति गरिएको परीक्षणमा चितवन सहित विभिन्न जिल्लाका गरी कुल ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये भरतपुर महानगरपालिकाका ४ जना, मकवानपुर, बारा र गोरखाका १/१ जना रहेका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति कुल ३५५ जनाको नमुना परीक्षण गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker