
भरतपुर ११ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको साखा बिस्तार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले महानगरीय स्वास्थ्य प्रवर्धन स्वस्थ जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत शहरी क्लिनिक कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ११ पोखरी चोकमा शुरु गरेको छ | बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्री रमेश अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अहिलेको परिस्थितिमा स्वस्थ रहनका लागि आयुर्वेद, योग एवं जीवनशैली व्यवस्थापनको महत्व पूर्ण भूमिका रहेको कुरा बताउनु भयो | प्रदेश सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी नाराका साथ जीवनशैली परिवर्तन कार्यक्रम अन्तर्गत मद्यपान, ध्रुम्रपान जस्ता स्वास्थ्यलाई हानि गर्ने जीवनशैली परिवर्तन गरि स्वस्थ जीवनशैली अपनाउन स्वास्थ्यकर्मी लगायत समाजका अगुवा जनप्रतिनिधि, शिक्षक सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो | भ.मा.न.पा.११ का वडाध्यक्ष श्री बाबुराम अधिकारीले पिनास, माइग्रेन्, मधुमेह, उच्चरक्तचाप, बाथरोग आदिमा आयुर्वेद उपचार प्रभावकारी रहेको आफ्नो अनुभव सुनाउदै यस कार्यक्रमलाई अझ प्रभावकारी ढंगमा निरन्तरता दिनु पर्ने मा जोड दिनु भयो | सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा कोपिला अधिकारीले प्रत्यक महिनाको ५ र १५ गते निशुल्क स्वास्थ्य परिक्षण एवं औषधि वितरण कार्यक्रम गरिने जानकारी दिनु भयो साथै आगामी दिनमा योग सेवा पनि संचालन गर्ने योजना रहेको बताउनु भयो | चितवन जिल्लामा आयुर्वेद औषधि निर्माण एवं जडिबुटी प्रशोधन केन्द्रको निर्माण भै रहेको र प्रादेशिक आयुर्वेद अस्पतालको लागि पहल भैरहेको जानकारी दिनुभयो | बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गत आ.व. देखि सो कार्यक्रम शुरु गरिएको हो | कोरोना महामारीका कारण केहि समय रोकिएको सो कार्यक्रम अब निरन्तर रुपमा संचालन हुनेछ |