चितवनका सार्वजनिक यातायातहरुमा न स्यानिटाइजर न त भौतिक दूरी नै कायम, भाडा मात्रै बढी

आशिष उप्रेती, चितवन, असोज २७
चितवनमा कोरोना भाईरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा चितवनमा खुलेका सार्वजनिक यातायातहरुमा आवतजावत गर्न भने जोखिमपूर्ण बनेको छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातहरुमा भीड बढ्दै गएको छ । यस्ता सार्वजनिक सवारी साधनहरुमा स्यानिटाइजरको व्यवस्था नहुदा तथा ब्यक्ती ब्यक्ती बिचको भौतिक दुरी कायम नगरिँदा जोखिम झनै बढेको छ ।                   

तर कोरोना महामारीको समयमा सार्वजनिक यातायातको साधन भित्रै भौतिक दूरी कायम गर्न आधा सिटमा मात्र यात्रु राख्न पाइने नियम लगाइएको छ र ५० प्रतिशत बढी भाडा उठाउन दिइएको छ । यातायात व्यवसायीहरुले भाडा बढी लिने बाहेक अरु स्वास्थ्यसंग सम्बन्धित अन्य कुनै पनि सुरक्षाका उपायका नियमहरु मानेका छैनन् ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुई जना बस्ने गरेको एक लहरमा एक जना बस्ने, सार्वजनिक सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

चितवनमा चल्ने सार्वजनिक यातायातहरुमा बेला बेलामा अनुगमन नहुँदा यातायात व्यवसायीहरुले जे गरे पनि हुन्छ भन्ने भएको भण्डारा देखि भरतपुरसम्म यात्रा गरेका यात्रु दिलिप सापकोटाले बताए । सार्वजनिक यातायातहरुले पालना गर्नुपर्ने दूरी कायम नभएको र क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन नभएको उहाले बताए । पहिलेको पुरानो भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेको सापकोटाले गुनासो गरे ।                               

विभागले चार किमीको भाडा १४ रुपैयाँ तोकेको थियो । कोरोना महामारीको समयभर भाडा बढाएर न्युनतम भाडा २१ रुपैयाँ पुर्‍याइएको छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा २५ रुपैयाँ उठाइरहेका छन् । यातायात व्यवसायीहरु न्यूनतम भाडा २५ रुपैयाँ नै बनाईरहेका छन् । कोरोना महामारीका बेला सार्वजनिक यातायातहरुमा भौतिक दूरी र सुरक्षाका उपायका नियमहरु भने अपनाएका छैनन्, भाडा मात्रै बढी असुली रहेका छन् ।

पूर्वि चितवनको लोथर, भण्डारा, पर्सा, टाडी हुदै चितवनको मुख्य शहरी क्षेत्र भरतपुर र नारायणगढ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । विशेष गरी पर्सा र टाडीबाट भरतपुर र नारायणगढसम्म यात्रा गर्ने यात्रुहरु अहिले पनि झुण्डिएर यात्रा गर्न बाध्य छन् । तर भाडा भने बढी नै तिरिरहेका छन् ।                   

आम नागरिकहरु कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदा समेत सम्बन्धित निकायले अहिले सम्म अनुगमन नगरेको अर्का यात्री सुमन भुजेलले भने । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको उहाले गुनासो गरे ।

सार्वजनिक यातायतमा आधा मात्रै यात्रु राख्ने नियम भए पनि पूर्ण क्षमतामा यात्रु राखेर ५० प्रतिशत भाडा असुलेर यात्रुको ढाड सेक्ने कार्य भएको सार्वजनिक यातायातमा यात्रा गरेका विधार्थी सरोज प्रजाले बताए । कोरोना महामारीले सबैतिर अस्तव्यस्त बनिरहेको बेला यही मौका छोपेर दोब्बर भाडा लिन थालिएको छ, त्यसको प्रत्यक्ष असर विद्यार्थी र आर्थिक रुपमा विपन्न हामी जस्ता परिवारलाई पर्ने भएको विधार्थी प्रजाले गुनासो गरे ।                                         अर्का यात्रु सन्तोष अधिकारीले पछिल्लो समय सरकारले निगरानी नराख्दा यात्रु मर्कामा परेको बताए। लामो दूरी र छोटो दूरीका सवारीसाधनले तोकिएभन्दा दोब्बर भाडा असुली गरेको उनको भनाइ छ। ‘सरकारले व्यवसायीसँग एक खालको सहमति गर्यो तर अहिले यातायातमा मनपरी चलेको छ। साथै न त यातायात व्यवस्था विभागले हेर्छ न त ट्राफिक प्रहरीले नै, यस्तो बेलामा पनि यात्रु ठगिएका छन्, सरकारी निकाय रमिते छ,’ उनले भने। तर, अहिले सडकमा यातायात व्यवसायीहरुले यात्रुलाई नै मर्कामा पारेका छन्। विद्यार्थी र ज्येष्ठ नागरिकलाई दिइने छुट पनि दिएको छैन। एउटै सिटमा दुईजना राखिएको छ। ट्राफिक प्रहरीले अनुगमन नगरेपछि यस्तो लापर्बाही बढेको यात्रु अधिकारीले बताए।                              सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा चितवन जिल्लामा सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ। सामान्य अवस्था र अहिलेको अवस्थालाई यातायात क्षेत्रमा पालना गरिएको छैन, भाडा चर्को लिने तर मापदण्ड पालना गर्नेतर्फ भने यातायात व्यवसायीहरुको चासो देखिएको छैन ।                     

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker