राजकुमार चेपाङलाई मारेको अभियोग लागेका सैनिक जवान थुनामा

चितवन, असोज २८-
पूर्वी चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राजकुमारसहित ५ जना गत साउन १ गते घोंगी खोज्नका लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र पुग्दा सेनाले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । कुटपिटको ८ दिनपछि राजकुमार चेपाङको मृत्यु भएको थियो ।

साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले छोरा राजकुमारको सेनाको कुटाईबाट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । पछि भदौ २५ गते उनले छोरालाई कुटपिट गर्ने व्यक्ति चिरणकुमार बुढा नै भएको भन्दैं प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । बर्दियाको गेरुवा–५ का बुढालाई गत असोज ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

चेपाङको मृत्युका विषयमा थप प्रमाणहरु जुटाउँदै अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker