चितवनमा दसैँको बिदामा पनि कोरोना परीक्षण ल्याब खुल्ने

चितवन, कार्तिक ३-
चितवनमा दसैँको समयमा पनि कोरोना परीक्षणको कामलाई नरोक्ने गरी तयारी थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले बडा दसैँको मुख्य ३ दिन अष्टमी, नवमी र दशमीमा आलोपालोमा ल्याबहरु खोलेर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

बडा दसैँको मुख्य ३ दिन अष्टमीको दिनमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला, नवमीको दिनमा चितवन मेडिकल कलेजको प्रयोगशाला र दसैँको टीकाको दिनमा क्यान्सर अस्पतालको प्रयोगशाला सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिनुभयो । चितवनमा तीन वटा अस्पतालले कोरोना परीक्षण गराउँदै आएका छन् ।

साथै आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले बडा दसैँको समयमा सबै स्थानीय तहमा स्टाण्डबाई रहने एम्बुलेन्सहरूको सूची समेत सार्वजनिक गर्ने निर्णय गरेको तिवारीले बताउनुभयो । कोरोनाको बेलामा सबै संवेदनशील बन्नुपर्ने भएकोले चितवन जिल्लाका अस्पतालहरुमा हाल चलिरहेका कुनै पनि सेवालाई नरोक्ने गरी जनशक्तिको विन्यास र व्यवस्थापन गर्न अस्पतालहरूलाई भनिएको उहाले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले बडा दसैँको समयमा जमघट हुने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गर्नुभयो । टीका लगाउँदा बाहिर घाम भएको र हावा खेल्ने ठाउँमा लगाइदिन उहाले सुझाव दिनुभयो । साथै टीका लगाउने र लगाइदिने दुवैले मास्क लगाउन पनि उहाले आग्रह गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker