चितवनको धानमा रोगैरोग, १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

चितवन, कार्तिक ३-
चितवनका धान खेतहरु झट्ट हेर्दा पहेँलो देखिन थालेको छ । टाढाबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न लागेको जस्तो लाग्छ । तर, नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याउन लागेको देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले चितवनमा कालो पोके र गबाराले कतैकतै शतप्रतिशतसम्म धान नोक्सानी गरेको बताउनुहुन्छ । कहीँ भने आंशिक रूपमा क्षति गरेको पाईएको छ ।

दुःख गरेर लगाएको धान पाक्ने बेलामा नोक्सानी भएपछि जिल्लाका किसानहरू निराश बनेका छन् । लगातार पानी पर्नु र जम्नु, समयमा नै बीउ तथा विषादीको व्यवस्थापन र राम्रो बीउको प्रयोग नगर्दा धानमा क्षति भएको परियोजनाका प्रमुख तिमिल्सिनाले बताउनुभयो । कतिपय किसानहरुको धानमा परालबाहेक केही पनि नरहेको र शतप्रतिशत समेत नोक्सानी भएको देखिएको उहाले बताउनुभयो । किसानहरुबाट असल कृषि अभ्यास नभएको बताउदै बीउको पनि समस्या देखिएको र वातावरणको कारणले पनि असर गरेको उहाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र चितवनले गत वर्षमा भन्दा यस वर्ष धानमा बढी रोग तथा किरा देखिएकाले उत्पादनमा ह्रास आउने बताएको छ । कृषि व्यवसायी मित्रराज दवाडीले यस वर्ष पानी परिहेकाले स्रोत साधन सबै भएर पनि रोग किरा नियन्त्रणका लागि विषादी समयमा हाल्न नपाउँदा धानमा समस्या आएको बताउनुभयो । उहाले कतिपय किसानले प्रमाणित पहिलो पुस्ता बीउबाट धान रोपेपछि सोही बीउ राखेर दोस्रो, तेस्रो पुस्ता लगाउँदा पनि रोग किरा बढ्ने बताउनुभयो । उहाले पहिलो पुस्तामा समस्या देखिए अर्को वर्ष नयाँ जातको धानको बीउ लगाउनुपर्ने सुझाव समेत दिनुभयो।

सरकारले किसानहरूलाई धानको बीमाको पनि व्यवस्था गरेको छ । तर, अधिकांश किसानले बीमा गरेका छैनन् । लागतको ९० प्रतिशतसम्म बीमाको रकम पाउने व्यवस्था छ । सावा मन्सुली, साबित्री, उहार, हाइब्रिड धानमा गवारो, फड्के र कालोपोकेको समस्या रहेको छ ।

गबारो चितवन जिल्लाभरिकै धान खेतीमा देखिएको छ । धानमा सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्याउने तिमिल्सिनाले बताउनुभयो।

साबित्री धानमा जरा कुहिने रोग छ । फड्के किरा र जरा कुहिने रोग देखिएर धानको डाँठ नै कुहिन थालेपछि कतिपय किसानले धान खेतमा नै आगो लगाउन समेत थालेका छन् ।

उत्पादन घट्ने अनुमान

कृषि ज्ञान केन्द्र चितवनले गत वर्षमा भन्दा यस वर्ष धानमा बढी रोग तथा किरा देखिएकाले उत्पादनमा ह्रास आउने बताएको छ । ज्ञान केन्द्रका प्रमुख राजन ढकालले धानको उत्पादन १० देखि १५ प्रतिशतसम्म घट्ने प्रक्षेपण गरिएको बताउनुभयो । यसपटक विषादीको अभाव नभएको, मलखादको पनि ठूलो अभाव नभएको, सबै प्रयास गरेको र मौसम पनि प्रतिकूल बनेको बताउदै प्रमुख ढकालले देशैभरी यसपटक रोग र किराको प्रकोप धानमा बढी देखिएको उहाले बताउनुभयो । उहाले यस वर्ष धानको उत्पादन घट्ने देखिएकाले गहुँ लगायतका बाली उत्पादनमा विशेष समयमा प्राथमिकता दिएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्लाको २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यस वर्ष लकडाउनका कारणले तरकारी खेती बिक्री नभएपछि कतिपय किसानहरूले धान खेती लगाएका थिए । चितवनमा चैत र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ ।

चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ । वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । चितवन जिल्लामा गत वर्ष १ लाख ६ सय ७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अनलाईनखबर डटकम बाट साभार गरीएको

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker