
देवघाट, मंसिर १४-
देवघाट गाउँपालिका ३ नाल्बुङकी एकल महिला माया गुरुङले ७३ बर्षमा पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार बृद्धाको घरमै पुगी गुरुङलाई नगारिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
परिवारमा कोही पनि सदस्य नभएको कारण एक्लै बस्दै आउनु भएकी उहाँले अहिलेसम्म नागरिकता नपाएको बारेमा जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । नागरिकता पाईन्छ भन्ने बारेमा आफुलाई केही थाहा नभएको बृद्धाले बताएको तनहुका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
नागरिकता नहुँदा ७३ वर्ष भईसक्दा समेत बृद्धाले अहिलेसम्म सरकारले प्रदान गर्ने जेष्ठ नागरिकको भत्ता समेत प्राप्त गरेकी थिईनन् । अब उनले पाउने जेष्ठ नागरिक भत्ताको लागि प्रक्रिया सुरु गर्न अध्यक्ष थापाले वडा सचिवलाई निर्देशन समेत दिएका छन् ।
नागरिकताको प्रमाणपत्रसँगै अध्यक्ष थापा र प्रजिअ आचार्यले उनलाई करिब ४÷५ महिनाको लागि पुग्ने खाद्यान्न सामाग्री सहित आवश्यक भाँडा र न्यानो कपडाहरु समेत उपलब्ध गराउनुभएको छ । उक्त सामाग्रीहरु वाटर एड नामक संस्थाले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए ।
२०७२ सालको भुकम्पले घर क्षती भएपनि उनी गाउँलेहरुले बनाई दिएको टिन र स्याउलाले बारेको छाप्रोमा बस्दै आएकी थिईन् । नागरिकताको प्रमाणपत्र प्राप्त पछि बृद्धालाई भुकम्प पीडितको लागि बनाईने नीजि आवास निर्माणको लागि शनिबार नै सम्झौता समेत गराईदिएको र जतिसक्दो चाँडो घर निर्माण सम्पन्न गर्ने ठेकेदारको समेत व्यवस्थापन गरिएको प्रजिअ आचार्यले बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, मनकामना सशस्त्र प्रहरी गण भानुका गणपती सन्जय भट्टराई, सांसद कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्का, समाजसेवी लेखनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।