करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

चितवन । पुर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् ।
प्रतियोगितामा राष्ट्रिय स्तरका ठुला टीमको सहभागिता रहने र लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक सोम बहादुर पुनले जानकारी दिए । उनका अनुसार मणी मुकुन्द भलिबल क्लब रुपन्देही, स्याङ्जा वालिङ भलिबल क्लब स्याङ्जा, पाल्पाली भलिबल क्लब पश्चिम नवलपरासी, चितवन भलिबल संघ चितवन, अभिषेक चर्च रजहर, साहारा सुपरमार्केट चितवन, नवलपुर भलिबल संघ नवलपुर र करवाकेली पुन युवा समाज राप्तीले प्रतियोगिता खेल्नेछ ।
८ टीमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख १ सय रुपैयाँ र ट्रफी हात पार्नेछ । त्यस्तै दोस्रो हुने टीमले नगद ५० हजार ५५ रुपैयाँसहित ट्रफि, तेस्रो हुने टीमले नगद २५ हजार ५५ सहित ट्रफि र सान्त्वना टीमले १२ हजार ५ सयसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न बिधागत पुरस्कारहरू समेत दिइने संयोजक पुनले जानकारी दिए । प्रतियोगितामा १८ लाख आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित अतिथिहरुले प्रतियोगिताको सफलताको कामना गरे । प्रमुख अतिथि पुन समाज चितवनका अध्यक्ष धन बहादुर पुनले युवाहरुलाई जुझारु बनाउन खेलकुदले भुमिका खेल्ने वताए । पुन समाजले समाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउँदै उनले यस्ता गतिविधि निरन्तर जारी राख्ने बताए । खैरहनी नगरपालिका वडा नं ९ का अध्यक्ष होम बहादुर पुनले खेल र खेलाडीको प्रोत्साहनका लागि आफुले सहयोग गर्ने बताए।‌ उनले भलिबल खेलको रेफ्री उत्पादनमा भुमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा पुन समाजका जिल्ला सहसचिव हरि पुन, सदस्य भिम बहादुर पुन लगायतले बोलेका थिए । कार्यक्रम करवाकेली पुन युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिताको माघ १७ गते फाइनल खेल हुने तालिका छ । सोहि दिन पुन समाज पुर्वी चितवन क्षत्रिय समितिको वार्षिक साधारणसभा समेत हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker