कालीकोटका बाढीपहिरो पीडितको बिचल्ली

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।

बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार १२८ अहिले पनि जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले बताउनुभयो । चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा बालबच्चा र बुढाबुढीलाई अझ बढी समस्या रहेको वडा नं ४ का नवराज बुढाले जानकारी दिनुभयो । ‘‘चिसो मौसममा जङ्गलको बीचमा बस्दा समस्या भएको छ ।’’ बाढीपहिरोका कारणले विस्थापित भएलाई पुनःस्थापनामा कसैले ध्यान नदिएको स्थानीयवासी धनसरा बुढाले बताउनुभयो, “हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं” उहाँले भन्नुभयो,“तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन् ।”

गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले बताउनुभयो । ‘‘बस्ती बसाल्नका हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ’’ उहाँले भन्नुभयो । अहिले बाढीपीडित बसिरहेको क्षेत्र जङ्गल रहेको त्यहाँ बस्ती बसाल्ने हो भने ठूलो मात्रामा जङ्गल फँडानी गर्नुपर्ने अवस्था रहेको अमिन विश्वकर्माले बताउनुभयो । ‘‘पूरै बस्ती बसाल्नका लागि ८३ हजार ५२० वर्गमिटर अर्थात ८।३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’’

बाढीपीडितलाई शुरुको अवस्थामा केही राहत दिइएको र अहिले बस्ती बसाल्नका लागि पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो । ‘‘बस्ती बसाल्न आवास निर्माणका लागि सङ्घ, र प्रदेश सरकारसँग आग्रह गरिएको छ’’ उहाँले भन्नुभयो । प्रदेश सरकारले बस्ती निर्माणका लागि रु एक करोड ७० लाख दिने भने पनि अहिलेसम्म रकम नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“सङ्घीय सरकारले दिने भनेको राहत पनि आएको छैन ।” बाढीपहिरोका कारण गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker