नेपालमा पाँच दिनमा ८८ हजार मानिसले लगाए कोरोनाको खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताउनुभयो । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ । उहाँले त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठीक भएका जानकारी दिनुभयो । मन्त्रालयले कुनै त्यस्तो समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker