नेपालमा थप १५९ जनामा देखियो कोरोना, २६४ सङ्क्रमित निको

काठमाडौ । थप १५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ११८ पुगेको छ । थप चार हजार १४५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ७५ हजार १५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६६ हजार ६०० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर दुई हजार ४८९ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा तेह्रथुमका एक, सुनसरीका चार, बाराका एक, महोत्तरीका एक, काठमाडौँका ७०, काभ्रेपलाञ्चोकका पाँच, चितवनका १६, धादिङका एक, नुवाकोटका पाँच, भक्तपुरका पाँच, मकवानपुरका एक, ललितपुरका १०, कास्कीका २१, गोरखाका दुई, तनहुँका दुई, म्याग्दीका एक, लमजुङका दुई, बागलुङका दुई, अर्घाखाँचीका दुई, गुल्मीका दुई, पाल्पाका दुई, बाँकेका दुई तथा रोल्पाका एकजना रहेको मन्त्रालयले जनाएको छ ।

शून्य मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार २९ पुगेको छ । यसअघि यही माघ १६ तथा गत साउन ४, साउन ५ तथा साउन ८ गते कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker