महामारीमै विदेश उडे ६२ हजार कामदार

काठमाडौ । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।

‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्। तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि सोही रोजगारीमा जानेको संख्या अधिक छ।

खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्। स्वदेशमै रोजगारीमा रहेका १५ लाखभन्दा बढी बेरोजगार भएका छन्।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker