सरकारले लक्ष्य राखेको भन्दा आधा कमले मात्रै लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो ।

तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।

बुधवारदेखि नै ३०० ओटा खोप केन्द्रबाट खोप लगाउने तयारी थियो । तर सबै केन्द्र खोपका लागि तयार गर्न नसकेपछि शुरूमा १२० केन्द्रबाट खोप अभियान शुरू गरिएको थियो । अभियानको अन्तिम दिनसम्ममा २०१ केन्द्र मात्र खोप भण्डारणका लागि तयार भएका थिए ।

मन्त्रालयले आगामी फागुन १४ गतेदेखि खोपको पहिलो डोज दिएकालाई दोस्रो चरणअन्तर्गत खोप लगाउनेछ । यसैगरी सोही दिनदेखि थप अन्य व्यक्तिलाई पनि खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सरकारले सोही दिनदेखि लगाउन शुरू गर्नेगरी चीनले दिने भनेको ५ लाख खोप ल्याउने तयारी गरेको उनले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker