पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ ।

गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का वर्षा र हिमाली भेगमा बाक्लो हिमपात भएको थियो । त्यस्तै मौसम दोहोरिँदै फेरि यस साता पनि झन्डै एक साता बदलीसँगै हल्का वर्षा र हिमपात हुने भएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “फागुन मध्यसम्म यस वर्षको हिउँद हो, यही अवधिमा मौसम बदली कायम रहेर वर्षा गराउँदै हिउँद बिदा हुने देखिएको छ ।” उनका अनुसार अहिले फेरि नेपालमा पश्चिमी वायु सक्रिय बनेको छ तर यसको प्रणाली त्यति बलियो नहुँदा भारी वर्षा र सोही आँकडामा हिमपात भने हुने छैन । अबको एकसाता बदली र हल्का वर्षासँगै यस वर्षको हिउँद सकिने तरखरमा लागेको मौसमविद् मानन्धरले बताइन् ।

आगामी तीन दिन तराईमा त्यति साह्रो मौसम बदली रहने छैन तर पहाडी र हिमाली भेगमा भने हिमपात र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना उनले औँल्याइन् । त्यसका कारण बढ्दै गएको तापक्रम फेरि चिसोतिर परिणत हुनेछ । न्यूनतम तापक्रममा खासै कमी नआए पनि चिसो महसुस हुने उनले जानकारी दिइन् । बिहीबार दिउँसो घाम देखिए पनि अपराह्नदेखि बदली लागेर धुम्म बन्नेछ ।

केही दिन त्यस्तै अवस्था रहनाले मौसम चिसो हुने भएको हो । मौसमी विवरणअनुसार बागमती प्रदेशको काठमाडौँलगायत पहाडी भेगमा फाट्टफुट्ट वर्षा हुनेछ ।आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker