हलमा ‘सानो संसार र कबड्डी ३’

काठमाडौं । कोरोना कहरका कारण नेपाली चलचित्रले निकै ठूलो क्षति व्योहोर्नुपरेको छ । गत वर्षको चैतबाट सुरु भएको बन्दाबन्दीपछि नेपाल सरकारले २६ पुसबाट मात्रै चलचित्र हल सुचारु गर्ने अनुमति दियो । दश महिनासम्म हल बन्द भएपछि मर्कामा परेका हल व्यवसायी यसबाट उत्साहित बने । हल सञ्चालनपछि केही राहत होला भनेका व्यवसायी पछिल्लो समय खासै उत्साहित देखिएका छैनन् । एक महिनाभन्दा बढी समयदेखि हल सञ्चालनमा आए पनि निर्माताले चलचित्र सार्वजनिकका लागि कुनै तत्परता देखाएका छैनन् । चलचित्रको छायांकनको काम धमाधम भए पनि रिलिजका लागि भने निर्माताले रुचि देखाएका छैनन् । यही कारण अहिले सिनेमा घरमा चलचित्रको अभाव देखिएको छ ।

यही मेसो पारेर अहिले हलमा पुराना नेपाली चलचित्र प्रदर्शन गरिएको छ । १ माघबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आए पनि त्यसले खासै व्यापार गर्न सकेन । त्यसलगत्तै दक्षिण भारतीय हिन्दी डब चलचित्र ‘मास्टर’ प्रदर्शनमा आयो । यसले पनि नेपाली बक्सअफिसमा खासै उत्साह थप्न सकेन । यसैकारण हल सञ्चालकले पुराना चलचित्र पुनः प्रदर्शनमा ल्याउन थालेका हुन् ।

प्रणय दिवसको सन्दर्भ पारेर १३ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘सानो संसार’ पुनः सार्वजनिक गरिएको छ । यसैगरी गत वर्षको प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि पुनः हलमा लगाइएको छ । २७ चैतअघि कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा नआउने हल सञ्चालकले जनाएका छन् । सौर्य दैनिकमा खबर छ । त्यसैले हल व्यवसायीले पुराना नेपाली चलचित्र हलमा प्रदर्शनमा ल्याएका हुन् । यहीबीचमा २ अप्रिलमा हिन्दी चलचित्र ‘सूर्यवंशी’ प्रदर्शनमा आउने जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker