वडा कमिटीका कार्यकर्तालाई सिधै केन्द्रीय सदस्य बनाउँदै ओली, प्रचण्ड-नेपाल हेरेको हेर्‍यै

सत्तारुढ नेकपाको रमिता कस्तो भने, एउटा समूह आन्दोलनमा छ । जिम्मेवारीहरु पहिला जे–जे थिए, त्यही–त्यही छ । अर्को समूह सरकारमा छ । आफ्नो पक्षमा खुलेका मान्छेहरुलाई छानीछानी कमिटीमा राख्दै वडा र टोल कमिटीसम्म बनाउन भ्याइसक्यो।

सामान्यतया आन्दोलन चलाइरहेको पार्टीका लागि जिम्मेवारी दिनु र नदिनुको ठूलो अर्थ हुन्छ । तर, नेकपामा उल्टो भइरहेको छ । सत्तारुढ समूहचाहिँ भएका पार्टी कमिटी फुटाउँदै आफ्ना मान्छे राख्न व्यस्त छ। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

पार्टी एकताको तीन वर्षदेखि बेरोजगार बनेको पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका कार्यकर्तामध्ये अहिले एकथरि वडा कमिटीबाट सीधै केन्द्रीय कमिटीमा पुर्‍याइएका छन् । प्रचण्ड–माधव समूहमा कदका हिसाबले ठुल्ठूला नेता छन्।

तर, जिम्मेवारीविहीन । केपी समूहले सके सरकारी नियुक्ति, नसके पनि पार्टी, जनसंगठन, सम्पर्क मञ्चतिर हालेर मान्छे टिकाउँदैछन् । प्रचण्ड–माधव समूहका केही छोडेर करिव सबैजसो जिल्लामा कि संयोजक छैनन् कि सहसंयोजक छैनन् । तर, केपी पक्षले मागे–मागेअनुसार पद दिएर मान्छे टिकाएको छ । राजनीतिमा कतिपय विषयमा असहमति भएर पनि जिम्मेवारी पाउँदा इश्यु कोट्याएर नबस्ने मान्छेहरु हुन्छन्।

त्यस्ता मान्छे सत्तारुढलाई भन्दा आन्दोलनकारीलाई बढी चाहिने हो । जस्तो कि, राष्ट्रिय युवा संघ पुनर्गठन गर्दा बादल समूहका युवाले आफूमध्ये एकजनालाई वरिष्ठ उपाध्यक्ष मागे । महेश बस्नेतहरुले दिन सकिँदैन भनेपछि भेला बहिष्कार गरे । फलतः पूर्वएमालेमात्रै राखेर युवा संघ गठन भयो।

जिल्ला कमिटी सदस्य पनि नभएका ४५ जनालाई सीधै केन्द्रीय सचिव बनाइयो । अखिलमा पनि त्यही शैलीमा पुनर्गठन भएको छ । अनेमसंघमा पूर्वमाओवादीकी अमृता थापामगर अध्यक्ष थिइन् । अहिले उनीसहित सबै पूर्वमाओवादी र त्यो समूहमा लाग्नेलाई निकालेर आफ्ना मान्छेले भरिएको छ । यसरी सबै जनसंगठन एकलौटी बनिसक्यो।

ओलीपक्षीय पत्रकारका नेताहरु राजेन्द्र अर्याल, प्रमोद दाहाल, बालकृष्ण बस्नेत, उजिर मगर, गणेश बस्नेतहरु प्रदेश–प्रदेशमा भेला गर्दै हिँडेका छन् । उनीहरु पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक र व्यवसायिक रेडियोको नेतृत्वमा मान्छे छान्न कस्सिएका छन् । प्रचण्ड–माधव समूहका पत्रकार संगठन न मान्छे थप्न तम्सिएको छ, न पार्टी नेतृत्वमा रिक्त पदहरु पूर्ति गर्न सकेको छ।

जीवनभर केपी ओली भनेर पत्रकारिता गरेका शम्भु श्रेष्ठ पनि प्रचण्ड–माधव समूहमा प्रष्टैसँग लागेका छन् । उनलाई कतै समेटिएको छैन । ओलीपक्षीय पेशागत जिल्ला कमिटी ३ सय १५ सदस्यीय बन्यो । अध्यक्ष विश्वनाथ प्याकुरेललाई हटाएर शिक्षक पृष्ठभूमिका बाबुराम अधिकारीलाई अध्यक्ष बनाइएको छ । तर, प्रचण्ड–माधव समूह पूर्वमाओवादी र पूर्वएमालेको भाग मिलाउन नसकेर त्यसै लन्ठिएको छ।

केपी पक्ष धमाधम जिल्ला, नगर कमिटीहरु बनाउँदै छ । प्रायः सबै जिल्लाका सम्पर्क मञ्चमा आ–आफ्ना मान्छे राख्ने काम भइसकेको छ । प्रधानमन्त्रीको गृहजिल्ला झापाली सम्पर्क मञ्चमा तुलसी मैनाली अध्यक्ष थिए । उनलाई हटाएर उपाध्यक्षलाई अध्यक्ष बनाइएको छ । तेह्रथुमको सम्पर्क मञ्चमा शिवमाया तुम्वाहाम्फे उपसभामुख हुँदाका स्वकीय सचिव केदार न्यौपानेलाई अध्यक्ष बनाइयो।

सचिव पर्यटनमन्त्री भानुभक्त ढकालका स्वकीय विष्णु खनाल बने । त्यसमाथि केपी समूहले माधव र झलनाथलाई हटाएको भनेको छैन । कानुनी रुपमा पूर्वएमाले एकै ठाउँ देखियोस् भन्नका लागि उनीहरुलाई नहटाए पनि प्रचण्ड–माधव समूहले केपीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिदियो।

भनिन्छ प्रचण्ड–माधव पक्षको बुझाई फरक छ । सर्वोच्च अदालतले संसद विघटन स्वीकार गरेन भने त्यसपछि भएभरका मानिस आफ्नै समूहमा आउँछन् । अहिले बनाउनुपर्ने मान्छेहरु त प्रशस्तै छन् । तर, यदि संसद बहाली भयो र सबै फर्किए भने उनीहरुलाई पुरानै पदमा राख्नुपर्ने हुनसक्छ।

त्यो स्थितिमा भर्खरै जिम्मा दिइएकाहरुको पद खोस्नुभन्दा दिन ढिला गर्नुले नै जित्छ भन्ने बुझाई छ । तर, केपी पक्षचाहिँ संसद बहाली भए पनि प्रचण्ड–माधवहरुको पार्टीसँग मिलेर नजाने गरी काम गर्दैछ । उक्त समूहले भोलि एमाले नामको पार्टी चलाउनुपर्ने हुनसक्छ र जनसंगठनका नाम पनि पुरानै कायम हुन्छ भनेर कार्यकर्ता पंक्तिलाई भनेको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker