भाडा वृद्धिको माग र ट्राफिक प्रहरीको दुर्व्यवहारको विरोध गर्दै पिकअप गाडी आन्दोलनमा : बन्यो संचालक समिति

रामु आचार्य

फागुन ८, रत्ननगर :

तेलको भाउ लगातार बढिरहदा पनि भाडामा वृद्धि नभएको साथै यात्राको क्रममा ट्राफिक प्रहरीले अनावश्यक दुर्व्यहार गरेको भन्दै पिकअप गाडी आन्दोलनमा उत्रिएका छन् । चितवन, धादिंग, नवलपुर, मकवानपुर, काठमान्डू, पोखरा, बाग्लुंग लगाएतका स्थानमा संचालन हुने पिकअप गाडीहरुको उपस्थितिमा रत्ननगरको टिकौली चौरमा २ दिन सम्म प्रदर्शन गरिएको थियो ।

पिकअपका चालकहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिने गरेको चालकहरुको गुनासो थियो । ट्राफिक प्रहरीले दोश्रो दर्जाको नागरिक सरह दु:ख दिएको, एकै टिपमा २ ठामका छुट्टाछुट्टै ट्राफिकले चिट काट्ने गरेको, लेबर बोक्दा किन मान्छे हालिस भनि जरिवाना गराउने गरेको, भारतीय गाडिले टनका टन तरकारी बोकेर आउदा खानतलासी नलिने तर किसानको बारीमा फलेको तरकारीको अनलाईन बिल माग्ने, बिल नदिए १५ सय सम्म घुस माग्ने र घुस नदिए गाडी रोकेर राखिदिने गरेको चालकहरुको गुनासो छ । त्यस्तै पिक अप गाडीहरुलाई दु:ख दिने उद्धेश्यले आपटारिमा काँटा राखी मनलाग्दी रुपमा ओभरलोड शुल्क लिनुले सरकारले आफ्नै देशमा बसेर काम गर्न चाहने युवा शक्तिलाई बेवास्ता गरेको प्रष्ट भएको सहभागीहरुको गुनासो छ ।

आन्दोलनमा उत्रिएका चालक तथा संचालकहरुले मिलेर एक समिति पनि गठन गरेका छन् । सो भेलाले “साना तथा मझौला पिकअप व्यवसायी संघ” नामाकरण गरि कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा खगेश्वर पाण्डे चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा तस्बिर थिङ्क, सचिव प्रविन श्रेष्ठ, कोषाध्यक्षमा नारायण सुबेदी त्यस्तै सदस्यहरुमा प्रकाश महतो, मोहम्मद मोजाहित र रहिस अन्सारी चयन भएका छन् । यो समितिले समग्र पिकअप गाडीको हितको लागि कार्य गर्ने अध्यक्ष खगेश्वर पाण्डेले बताएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker