प्रदेश १ मा कोरोनाले थप ७ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा २ र न्युरो अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएपछि उनलाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । राजवंशीका अनुसार मृतकमा श्वासप्रश्वास सम्बन्धी पुरानै समस्या रहेको पाइएको छ ।

कोशीमै उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवाको पनि बिहान ३ बजेतिर मृत्यु भएको राजवंशीले बताउनुभयो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि यहि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

सुनसरीको कोशी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको बिहान मृत्यु भएको छ । कोशीमै उपचाररत उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

सूचना अधिकारी राजवंशीले विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ११ बजेतिर कोशीमै मृत्यु भएको जानकारी दिनुभयो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।

यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या थियो । महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि बुधबारसाँझ ६ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो ।

विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गर्दै उपचार थालिएका युवाको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतले जानकारी दिनुभयो ।

गत वैशाख ५ गते मोरङको धनपालथान गाउँपालिका–४ मा को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार ती युवा घाइते भएका हुन् ।

त्यतिबेलै उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको हो । उनको दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको न्युरो अस्पतालले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker