पत्रकार पनि समयअनुशार परिवर्तन हुन आवश्यक छ

लीलावल्लभ घिमिरे

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण कलमजिवी सहकर्मीहरुमा शुभकामना । यो पत्रकारिता दिवसले हामीलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस् । सत्यको खेती गर्ने हामी पत्रकार आज विषम परिस्थीतिमा छौं ।

एकातर्फ हाम्रा पेटहरु खाली छन् । अर्का तर्फ कोरोनाको महामारीको भुमरीमा अग्रपंक्तिमा उभिनुपर्ने हाम्रो वाध्यता छ । जनतालाई सहि, सत्य र समयमा नै सुचना दिन मैदानमा खटीरहनु भएका सात जना साथीहरुले कोरोनाको भुमरीमा आफ्नो ज्यान आहुती गर्नु भएको छ । म उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोकमा परेका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्छु ।

साथै कोरोनाको कहरसँग संघर्ष गरी रहनुभएका संक्रमित साथीहरुको स्वाथ्यलाभको कामना । अनि बाँकी जो छौं बचेर रिपोटीङ गरौं । पहिलो हाम्रो ज्यान, अनि मात्र ब्रेकीङ न्यूज । मैले यति भनी राख्दा मेरो दायीत्व पुरा भए जस्तो लाग्दैन् । आज धेरै समस्याले जेलिएको नेपाली पत्रकारिताको भविष्यका बारेमा एक पटक जमेर छलफल गर्नुपर्ने अवस्था आएको छ ।

आज कोरोनाका कारण मृत्यु भएका परिवारकालागि राज्यले केही गर्नुपर्छ । अनी उनीहरु जुन मिडिया हाउमा काम गर्थे त्यो मिडियाको पनि केहि दायित्व हुन्छ भन्ने हेक्का रहनु आवश्यक छ । तर त्यसतर्फ कसैको पनि ध्यान गएको देखिदैन ।

कोरोनाका कारण विरामी भएका पत्रकारहरुलाई निशुल्क उपचारको व्यवस्था सरकारले गर्नुपर्छ । मैदानमा खटिएका पत्रकारहरुका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । यसका लागि हामीहरुले दवाव दिन सक्नुपर्छ । तर तीन तहका सरकार हुँदापनि हामीहरुले अनुभूती गर्ने गरी सहयोग भएको पाइदैन ।

नेपालमा प्रजातन्त्र हुदै गणतन्त्रसम्म आइपुग्दा नेपाली पत्रकारहरुले खेलेको भूमिकाको दल र तिनका नेताहरुले नजरअन्दाज गरे जस्तो लाग्छ । आफुलाई आवश्यक पर्दा प्रयोग गर्ने अनी अरु वेला वास्ता नगर्ने नेताहरुको बानी नयाँ र अनौठो भने पक्कै हैन ।

आज सिंहदरवार हाम्रो घर आँगनमा आएका छन् । तर त्यसको अनुभूती पत्रकारले मात्र हैन जनताले पनि पाएका छैनन् । आज बर्षौदेखि उठेको समानुपातिक विज्ञापन प्रणालीको कुरा कागजमा मात्र सिमीत छ । यसको कार्यान्वयन हुन सकेको छैन् ।

पत्रकारहरुले न्युनतम वेतन नपाइरहेको पिडा छदै छ । कोरोना सँगै जागिरबाट बिदा लिनुपर्ने अवस्था आएको छ । सामाजमा आफुलाई अब्बल देखाएका पत्रकारहरु आज आफ्ना पिडा खुलेर समेत भन्न सक्ने अवस्थामा छैनन् ।

यहाँनेर मलाई सानो छँदाको एउटा घटनाको याद आउँछ । मेरो घर धनकुटा जिल्लाको दुर्गम गाउँमा हो । हाम्रो सामान्य परिवार । खेतीपाती अनी घरमा दुध खानका लागि पालेका गाईको हेरचाह, दैनिकी यसरी नै चल्ने गथ्र्यो ।

एउटा गाई थियो । त्यो गाईलाई म निकै माया गर्ने । दिन भर त्यसैसँग खेल्थे । कति बेला दुध दुन्थे त कति बेला सिङ्गमा झुण्डीन्थे । गाई निकै सुवानीको थियो । केही बर्ष वित्यो । मेरो प्यारो गाई वुढो भयो । बाले भन्दै हुनु हुन्थ्यो । यो अन्तिम वेत हो ।

केहि समयपछि बाले गाई बेची दिनु भयो । आफुले धेरै माया गरेको गाई बेच्नु भएकोमा मलाइ नराम्रो लाग्यो । मैले बा लाई सोधें । बा किन यो गाइ बेच्नु भा’को ? बाले सहजै भन्नुभयो । यो वुढो गाईको के काम ? आज नेपाली पत्रकारितामा लगानी गर्ने साहुहरुको दिमाखमा पनि मेरा बाले गाई विक्री गरे जस्तै सोचको हावी छ ।

बल र बैंश हुन्जेल साहुले आफु अनकुल काममा लगाउँछन् । हामीपनि गरी राख्छौ । जव हाम्रो उमेर ढल्कन थाल्छ, अनी साहुले विकल्प खोज्न थाल्छन् । यसवाट नेपाली पत्रकारहरुलाई जोगाउनु प्रमुख कुरा हो जस्तो लाग्छ ।

हुनत आज हामी पत्रकारहरु नै मिडियाका मालिक बनिरहेका छौं । कुनै साहुको कम्पनीमा कारिन्दा हुनु भन्दा आफुले नै केही गर्नु राम्रो कुरा हो ।

हो आज युग परिर्वतन भएको छ । मुद्दा फेरीएका छन् । त्यति मात्र हैन रोग समेत फेरीएर कोरोना युग आएको छ । यस्तो अवस्थामा पत्रकारले अवको आफ्नो सुरक्षित बाटो कसरी तय गर्ने भन्ने चुनौती आएको छ । यसका लागि हामी सवै तयार हुनु पर्छ । आज सवै थोक फेरिएको छ भने हामीले अब आफूलाईपनि समय अनुसार परिर्वतन गर्न सक्नु पर्छ । यसैमा सबैको भलाई छ ।

राष्ट्रिय पत्रकारिता दिवसको यो पावन अवसरमा हामी सवैलाई यसै तर्फ लाग्न प्रेरणा मिलोस् भन्ने कामना ।
– लेखक नेपाल पत्रकार महासंघ प्रदेश–१ समितिका अध्यक्ष हुनुहुन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker