गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउने प्रयास असफल

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस–माओवादीसहित चार दलको प्रयास असफल भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समयदिनुभएको छ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताउनुभएको छ । प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका सांसद हस्ताक्षर कुरेर बसेका थिए । तर, थापाको अस्वीकार पछि सबै फर्किएका छन् ।

गण्डकीमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भएपनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।
राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले हिजो ह्वीप जारी गरेपनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताउनुभएको छ ।

उहाँले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने प्रतिकृया दिनुभएको छ । हस्ताक्षर लिनका लागि जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट उहाँहरुकै निवासमा पुग्नुभएको थियो । तर, महासचिवले पार्टी केन्द्रको निर्देशन अनुसार हस्ताक्षर गर्न आग्रह गरेपनि उहाँले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको हो ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । प्रदेशमा बहुमतका लागि राष्ट्रिय जनमोर्चा निर्णायक छ । जनमोर्चासँग तीन जना सांसद छन् । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker