कोभिड १९ को अवस्थाबारे प्रदेशस्तरबाट बुझ्दै नेपाली कांग्रेस

काठमाडौं । कोरोना भाइरसको महामारी तिब्रतर रुपमा फैलदै गएपछि प्रदेशस्तरीय अवस्थाको अध्ययन गर्न नेपाली कांग्रेसले अन्तरक्रिया गर्ने भएको छ ।

कांग्रेसले आजदेखि सात वटै प्रदेशमा जुम एप्लिकेशनबाट ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषययक अन्तरक्रिया गर्ने भएको हो ।

पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नता रहने कांग्रेसले जनाएको छ ।

प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीका क्षेत्रीय समितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता कार्यक्रममा रहने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता रामचन्द्र पौडेल विशिष्ट अतिथि रहने अन्तरक्रियामा अन्य नेताहरुको समेत सहभागीता रहने कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभएको छ ।

सबै प्रदेशको संयोजन कांग्रेस सहमहामन्त्री तथा समितिका संयोजक डा.प्रकाशशरण महतले गर्नुहुने छ । आज बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट शुरु हुने अन्तरक्रिया जेठ ४ गते अपराह्न ४ बजेदेखि १ नम्बर प्रदेशमा हुने बताइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker