यसरी तयार हुँदैछन् मोरङमा कोभिड अस्पताल र आइसोलेसन केन्द्र

१७ स्थानीय तहबाट ५ सय ५२ शय्या सञ्चालनमा

डिएन पथिक,

विराटनगर । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा मोरङमा कोभिड अस्पताल तथा आइसोलेशन केन्द्रहरु पनि धमाधम बन्न थालेका छन् ।

संक्रमित र संक्रमणले मृत्यु हुनेको संख्या दैनिक बढ्दै गएपछि स्थानीय तहहरुले पनि आवश्यकता अनुशार कोभिड अस्पताल र आइसोलेसन सेन्टर धमाधम निर्माण गर्दै सञ्चालनमा ल्याउन थालेका हुन् । जिल्लास्थित १७ वटा स्थानीय तहले हालसम्ममा ५ सय ५२ शय्याको अक्सिजनसहितको कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

प्रत्येक स्थानीय तहले आइसोलेसनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली खटाएका छन् । संक्रमित ओसार्नका लागि सबै स्थानीय तहले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेका छन् । प्रदेश १ मा शनिबारसम्ममा रहेको ११ हजार ७ सय ८ सक्रीय संक्रमितमध्ये ५ हजार ३ सय ५० अर्थात् ४५ दशमलव ७० प्रतिशत सक्रिय संक्रमित मोरङमा छन् ।

मोरङका सक्रिय संक्रमितमध्ये ३ हजार ७ सय ७५ अर्थात् ७० दशमलव ५६ प्रतिशत विराटनगर महानगरमा छन् । प्रदेश सरकार र संघीय सरकारले तोकेका कोभिड अस्पतालहरु भरिएपछि स्थानीय तहहरुले उपचार अभावमा संक्रमितलाई ज्यान गुमाउन नदिन चिकित्सकको निगरानीमा कोभिड अस्पताल र अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन थालेका हुन् ।

संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सबैको घरमा मापदण्ड अनुसारको आइसोलेसन नहुने भएकाले आइसोलेसन सेन्टरको माग बढ्दै गएको हो । बिपन्न परिवारमा एउटै घरमा धेरै जना बस्नुपर्ने, एउटै शौचालय प्रयोग गर्नुपर्ने हुँदा संक्रमण बढ्ने भएकाले आइसोलेसन केन्द्रको माग बढेको हो ।

विराटनगर महानगरले बैजनाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको छ । महानगरले आआरएन भवनमा ५० शय्याको थप अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माण गरेर आजैदेखि सञ्चालनमा ल्याइने प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताउनुभयो ।

महानगरले कोरोना संक्रमणले मृत्यु भएकाको शव व्यवस्थापनका लागि दाताले उपलब्ध गराएको शववाहन पनि सन्चालन ल्याएको उहाँले बताउनुभयो । महानगरभित्रका संक्रमितहरुलाई स्वास्थ्यसल्लाह दिनका लागि ३० जना चिकित्सकहरुको नामावलीका साथै मोवाइल नम्बर पनि सार्वजनिक गरिएको बस्नेतले जानकारी दिनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाले दुर्गादेवी दुलाल कभर्डहल सलकपुरमा ३५ र उद्योग बाणिज्य संघ सुन्दरहरैंचामा १५ गरी ५० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकालले आइसोलेसनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई संक्रमितहरुको उपचार तथा निगरानीका लागि खटाइएको बताउनुभयो ।

संक्रमितको पहिचान भएसँगै एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको टोली संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिई होम आइसोलेसनमा बस्न उपयूक्त देखिए १० प्रकारका औषधी निःशुल्क दिएर फर्किने गरेको उहाँले बताउनुभयो । होम आइसोलेसन बस्न उपयूक्त नभए एम्बुलेन्समा राखेर आइसोलेसन सेन्टरमा लगेर राख्ने गरिएको उहाँले बताउनुभयो ।

उर्लाबारी नगरपालिकाले नगर आधारभूत स्वास्थ्य चौकीमा ११ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । नगर प्रमुख खड्ग फागोले संक्रमित पहिचान भएपछि होम आइसोलेसन मापदण्ड अनुसार भए/नभएको अनुगमन गरी आवश्यकता अनुशार आइसोलेसनमा ल्याएर राख्ने गरिएको बताउनुभयो ।

लेटाङ नगरपालिकाले लेटाङ क्याम्पसमा १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको छ । यस्तै, बेलबारी नगरपालिकाले सामुदायिक वनको भवनमा १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

पथरी शनिश्चरे नगरपालिकाको नगर अस्पतालमा २५ शय्याको कोभिड अस्पताल तिब्र गतिमा निर्माण भइरहेको नगर प्रमुख दिलिपकुमार राईले बताउनुभयो । यस्तै, सुनवर्षी नगरपालिकाले अमरदह स्वास्थ्य चौकीमा ४० शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगर प्रमुख कालीप्रसाद दासले संक्रमितको संख्या बढ्दै गएकाले आवश्यकता अनुसार प्रत्येक वडाका स्वास्थ्य चौकीको नयाँ भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

रंगेली नगरपालिकाले रंगेली अस्पतालमा २० शय्याको कोभिड अस्पताल र तिरुपति बालाजु मन्दिरको धर्मशालामा ८० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

मिक्लाजुङ गाउँपालिकाले स्वास्थ्य चौकी मधुमल्लामा १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । यस्तै, केराबारी गाउँपालिकाले केराबारी अस्पतालमा २० शय्याको कोभिड अस्पताल र सर्पदंश अस्पताल कालाबारीमा २० शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले बताउनुभयो ।

कानेपोखरी गाउँपालिकाले कानेपोखरी अस्पतालमा ८ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनसेवा माध्यमिक विद्यालय रमाइलोमा २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

यसैगरि ग्रामथान गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र वडा २ मा ५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । त्यही ठाउँमा ६० शय्याको आइसोलेसन सेन्टर समेत तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष शिवनारायण माझीले बताउनुभयो ।

बुढीगंगा गाउँपालिकाले १० शय्याको बाँसबारीमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले कोभिड अस्पतालकै माथिल्लो तल्लामा थप १० शय्याको अस्पताल बिस्तार गर्ने कार्य भइरहेको बताउनुभयो ।

कटहरी र जहदा गाउँपालिकाले पनि १५/१५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker