पछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ।

पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबारभन्दा कम हो । शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो । त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो ।

पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या भने बढ्दै छ। आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए।

आइतबार १९ हजार पाँच सय ३९ जनाको पिसिआर परीक्षण र तीन सय ४४ जनाको एन्टिजेन्ट परीक्षण गरिएको थियो । शनिबार १८ हजार पाँच सय ४८ परीक्षण गर्दा संक्रमितको संख्या ८ हजार १ सय ६७ थियो ।

यसअघि सिसिएमसीको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि बितेका दुई साता निकै कठिनपूर्ण रहेको भए पनि अब बिस्तारै अवस्थामा सुधार आउने बताउनुभएको थियो ।

विज्ञहरूले भने दुई–चार दिनको तथ्यांक हेरेर नेपालमा कोरोना भाइरसको दोस्रो लहर ‘पिक’ मा पुगेर ओह्रालो लागेको निष्कर्ष निकाल्नु हतार हुने भए पनि यो सकारात्मक संकेत भएको बताएका छन्।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ,‘राम्रो संकेत देखिएको छ। तर अझै एक/दुई दिनको प्याट्रन हेर्नुपर्ने हुन्छ।’
अहिले मानिसहरू घरबाहिर निस्कन नपाएकाले संक्रमण घटेको हुन सक्ने डाक्टर पुनले बताउनुभयो ।

छिमेकी भारतमा पनि पछिल्लो साता कोरोनाको दैनिक संक्रमण ओह्रालो लागेको छ। कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ।

टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत थियो।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो। यसले भारतमा कोरोनाको दोस्रो लहर ‘पिक’ मा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन्। -सेतोपाटी 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker