निषेधाज्ञा पालना गराउन लेटाङमा शिक्षक कर्मचारी परिचालन

सुरेश अधिकारी,
लेटाङ । कोभिड–१९ को संक्रमण फैलन नदिन जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गराउन लेटाङमा शिक्षक–कर्मचारीलाई स्वय्सेवकका रुपमा परिचालन गरिएको छ ।

मानिसको आवातजावतलाई रोकि निषेधाज्ञालाई पूर्ण पालना गराउन लेटाङ नगरपालिकाको वडा २ मा यसरी शिक्षक कर्मचारी खटाइएको हो ।

हिजो वडा कार्यलयमा सरोकारवालाहरुको बैठक बसेर वडाभित्रका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरुलाई आजदेखि स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरिएको थियो । जिल्ला प्रशासन कार्यलय मोरङ र लेटाङ नगरपालिकाले ११ जेठसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।

यसअघिसम्म वडामा बुधबारे प्रहरी चौकि र जनप्रतिनिधिहरुको सिमित जनशक्ति निषेधाज्ञा पालना गराउन परिचालन हुँदै आएको थियो । त्यति जनशक्ति मात्र कम हुने भएपछि स्वयम्सेवक परिचालन गरि वडा शिल गरिएको हो ।

बिपदमा नागरिकको रक्षाको लागि प्रत्येक नागरिकले योगदान गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै पहिलो चरणमा शिक्षक तथा सहकारी संस्थाका कर्मचारीलाई परिचालन गरिएको लेटाङ २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार ३५ जनाभन्दा बढि कर्मचारीहरुले पालो मिलाएर स्वयम्सेवकको रुपमा काम गर्नेछन् ।

त्यसका लागि वडा कार्यलयबाट स्वास्थ्य सामाग्री, परिचयपत्र र दिवा खाजाको ब्यवस्थापन गरेको छ । यस्तै स्वयम्सेवकहरुले गाउँबस्तिमा कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको विवरण समेत वडा कार्यलयमा बुझाउने र त्यसका आधारमा कोभिड परिक्षणको प्रबन्ध मिलाईने वडाअध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।

वडामा अत्यावश्यक काम बाहेक हिँडडुल गरे तत्काल कारवाहि गरिने प्रहरी चौकी बुधबारेका ईन्चार्ज ताराबहादुर बस्नेतले जानकारी दिनुभयो । लेटाङ– २ मा मात्र हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker